६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात, कुन देशबाट कति ल्याइयो ?

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६.३९ प्रतिशतले बढेको छ ।

भन्सार विभागका अनुसार समीक्षा अवधिमा २ हजार ४५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत आवको सोही अवधिमा १ हजार ४७३ वटा विद्युतीय सवारी आयात भएका थिए ।

विभागको तथ्यांक अनुसार चैतमा मात्रै २५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिमा ११६ वटा मात्र विद्युतीय सवारी साधान आयात भएको थियो ।

विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट १०० किलोवाट क्षमताका १ हजार ७५५ वटा विद्युतीय सवारी आयात भएका छन् ।

भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडीहरु चीनबाट नेपाल भित्रिएका छन् । चीनबाट १०० किलोवाट क्षमताका ३८१, दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताका २४०, र इन्डोनोसियाबाट ३ वटा विद्युतीय सवारी साधान आयात भएका छन् ।

यस्तै, दक्षिण कोरियाबाट  १०० देखि २०० किलोवाट क्षमताका २० वटा, चीनबाट ४३, यूकेबाट दुई वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चीनबाट २०० देखि ३०० किलोवाट क्षमताका ५ र बेलायतबाट दुई वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

समीक्षा अवधिमा भारतबाट मात्रै रु ४ अर्ब ७१ करोड ९८ लाख बराबरको विद्युतीय सवारी आयात भएका छन् । पछिल्लो समय भारतबाट टाटाको विद्युतीय गाडी नेक्सन र टिगोर इभी र महिन्द्राका गाडीहरु आयात भएका छन् । यस्तै, चीनबाट समा नेटा भी, बीवाइडी, एमजी र टेस्लाका गाडीहरु आयात हुने गरेको छ ।

सात अर्बका गाडी भित्रिए

चालू आर्थिक वर्षको ९ महिनामा करिब रु ७ अर्ब बराबरका विद्युतीय सवारी साधान नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चैत मसान्तसम्म २ हजार ४५१ वटा विद्युतीय सवारी आयातमा रु ६ अर्ब ८५ करोड ७९ लाख बाहिरिएको छ ।

विद्युतीय सवारी आयातबाट सरकारले रु १ अर्ब ९३ करोड १३ लाख ५९ लाख राजश्व संकलन गरेको छ । गत आवको सोही अवधिमा रु चार अर्ब २९ करोड ६६ लाख ३१ हजार बराबरको विद्युतीय गाडी आयात भएको थियो । उक्त आयातबाट सरकारले रु एक अर्ब १६ करोड ५५ लाख २० हजार राजश्व संकलन गरेको थियो ।

उपत्यकाका ३ करिडोरमा 'पोड वे' चलाउने प्रस्ताव, यस्तो छ रुट Read Previous

उपत्यकाका ३ करिडोरमा 'पोड वे' चलाउने प्रस्ताव, यस्तो छ रुट

दोल्ती पावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

दोल्ती पावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा