उपत्यकाका ३ करिडोरमा ‘पोड वे’ चलाउने प्रस्ताव, यस्तो छ रुट

"'प्रि-फिजिबिलिटी स्टडी' गरिँदै"

काठमाडौं । काठमाडौं उपत्यकाका तीन करिडोरमा पोड वे (माइक्रो रेल) सञ्चालन गरिने भएको छ । उपत्यका विकास प्राधिकरणले पोड वे कम्पनीलाई तीन करिडोरमा पोड वे संचालन गर्न प्रस्ताव गरेको हो ।

प्राधिकरणले धोबीखोला, बागमती र विष्णुमती करिडोरमा सडक माथिबाट माइक्रो रेल सञ्चालन गर्न प्रस्ताव गरेको हो । पोडवे कम्पनीका अध्यक्ष निल भट्टराईका अनुसार उपत्यका विकास प्राधिकरणले धोबीखोला, बागमती र विष्णुमती करिडोरमा खोला माथी माइक्रो रेल सञ्चालनको (प्रि फिजिविलिटी स्टडी) प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि पोडवे कम्पनीमा प्रस्ताव गरेको हो ।

धोबीखोला करिडोरको कपन भङगाल बालुवाखानीदेखि धोबीखोला दोभानसम्म ११.५ किलोमिटर, बागमती करिडोरको चोभारदेखि सुन्दरीजल गोकर्णेश्वरसम्म १९.८ किलोमिटर र विष्णुमती करिडोरको गंगबु चक्रपथदेखि विष्णुमती दोभानसम्म ५.४ किलोमिटरमा माइक्रोरेल सञ्चालनको अध्ययन गर्न लागिएको हो ।

भट्टराईले वैशाख भित्रै प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि सम्झौता गरी अध्ययन सुरू गरिने बताए । उनले आगामी वर्षमा माइक्रो रेल सञ्चालनका लागि डीपीआर बनाउन बजेट समेत माग गर्ने तयारी रहेको बताए ।

पोड वे कम्पनीले सुन्दरीजलदेखि बल्खुसम्म माइक्रो रेल निर्माण गर्न रुट पर्मिट मागेको थियो । प्राधिकरणले त्यसको विकल्पमा ती तीन रुटको लागि प्रस्ताव गरेको हो ।

‘हामीले सुन्दरीजलदेखि बल्खुसम्मको रुट मागेका थियौँ, उहाँहरूले ३ वटा रुट दिन मिल्ने भन्दै प्रि फिजिबिलिटी स्टडी गर्न प्रस्ताव गर्नुभएको छ,’ भट्टराईले चाणक्य पोष्टसँग भने ‘खोला माथिबाट सञ्चालन गर्ने गरी अध्ययनका लागि प्रस्ताव आएको हो, हामीले सडक माथि पनि यो प्रविधि बनाउन सक्छौँ, वैशाखमै सम्झौता गरेर अध्ययन सुरू गर्ने छौँ ।’

काठमाडौं उपत्यका विकास प्राधिकरणका सूचना अधिकारी सौरब ढकालका अनुसार माइक्रो रेल सञ्चालनको अध्ययनको विषयमा छलफल भइरहेको छ । उनले ३ वटा रुटमा अध्ययन गर्नका लागि छलफल भइरहेको बताए । उनका अनुसार चाँडै यसको अध्ययन सुरू गरिने छ । अध्ययनका लागि पोड वे कम्पनीलाई पत्र पठाउन बाँकी रहेको छ ।

‘अध्ययनका लागि हामीले एउटा पत्र पठाउने छौँ, त्यसपछि उनीहरूले अध्ययन सुरू गर्ने छन्, हामी सुरूमा कुन करिडोरमा अध्ययन गर्ने भनेर छलफलमा छौँ,’ ढकालले भने ।

माइक्रो रेल निर्माण गर्न प्रतिकिलोमिटर ३ मिलियन (३० लाख) अर्थात् करिब ४० करोड रुपैयाँ हाराहारी खर्च हुन्छ । हाल धोबीखोला करिडोरमा टु वे माइक्रो रेल सञ्चालनका लागि प्राधिकरणसँग छलफल भएको उनले बताए । उनका अनुसार यसमा ४० वटा स्टेसन राखिने छ । माइक्रो रेलको एउटा बाकसमा ४२ जना यात्रुले एक पटकमा यात्रा गर्न सक्ने छन् । यो प्रत्येक ७ सेकेन्डमा आउने गरी विकास गरिनेछ ।

माइक्रो रेललाई यात्रुको चाप अनुसार बढाउन घटाउन सकिने उनले बताए । यस माइक्रो रेलले एक घण्टामा ५० हजार यात्रुलाई सेवा उपलब्ध गराउने छ । यस अघि काठमाडौं महानगरपालिकाले धोबीखोला करिडोरमा खोला माथिबाट माइक्रो रेल सञ्चालन गर्ने योजना बनाए पनि त्यो कार्यन्वयनमा ल्याउन सकेको थिएन ।

भट्टराईका अनुसार सुरूमा काठमाडौं उपत्यका भित्र १०० किलोमिटरमा माइक्रो रेल सञ्चालन गर्ने योजना भए पनि ठूला सडक र साना सडकको निकाय फरक पर्नाले सम्भव भएका स्थानमा सुरू गर्न लागिएको हो ।

के हो पोड वे (माइक्रो रेल)?

पोड वे भनेको एक किसिमको तारमा गुड्ने रेल हो । पोड वे दुईतिर पोल राखेर बीचमा तार टाँगिएको हुन्छ । यो सडकको बीचबाट माथि गुडाउन सकिन्छ । यसको पोलको दूरी अधिकतम ३ किलोमिटरसम्म राख्न मिल्छ । यो इस्ट्रिङ बेस टेक्नोलोजी हो ।

यो आर्टिफिसियल इन्टेलिजेन्स (एआई)द्धारा आफैं कम्प्युटरको सहयोगमा चल्नछ । सामान्य रूपमा यो केबलकार जस्तै हो । केबलकारभन्दा यसको लागत खर्च ५० प्रतिशत सस्तो रहेको छ यसको सञ्चालन खर्च ८५ प्रतिशत सस्तो पर्ने भट्टराई बताउँछन् ।

यो मेट्रो रेल र रेल गुडाउनेभन्दा ३ गुणा सस्तो पूर्वाधार रहेको उनले बताए । माइक्रो रेल युनिकार र युनिबस पनि हुन्छ । यसमध्ये युनिकारमा ६ जना अट्छ भने युनिबसमा १४ जना अट्ने छन् । यसमा ३ वटासम्म युनीबस जोडेर गुडाउन सकिन्छ । युनिबसले १ घण्टामा १५ सय जना यात्रुलाई सेवा दिन सक्नेछ ।

विश्वमा ५ वटा कम्पनीले स्ट्रिम बेस टेक्नोलोजीमा काम गरिरहेका छन् । पोड वे कम्पनीले सन् २०१९ मा क्यानडाका इन्जिनीयरलाई ल्याएर विभिन्न स्थानमा सम्भाव्यता अध्ययन समेत गरेको थियो ।

कोभिडको समयमा गोकर्णेश्वर नगरपालिकामा पोडवे जोड्न छलफल भए पनि २ वटा नगरपालिका जोड्ने भएकाले समन्वयन हुन सकेको थिएन । जबकी गोकर्णेश्वर नगरपालिकाले पोडवे सञ्चालनका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

राइट अफ वेको निर्णय संघीय सरकारले उपलब्ध गराउनु पर्ने भएकाले यो योजना कार्यान्वयनमा ल्याउन नसकिएको भट्टराईले बताए । यसलाई करिडोरको खोलामा बीचबाट पोडवे सञ्चालन गर्न सकिने उनले बताए । यसमा चढ्नका लागि आकाशे पुल जस्तै स्टेसन बनाइने छ । उक्त आकाशे पुलमा चढेर सजिलै पोडवे सेवा लिन सकिने छ ।

सर्वसाधरणलाई लक्षित गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको यो पोडवेमा प्रतिकिलोमिटर १० रुपैयाँ सेवा शुल्क लिइने उनले जानकारी दिए । विद्युतबाट चल्ने पोडवेमा विद्युत खपत कम हुनेछ । सहर र यसको भौगोलिक अनुसार जस्तो ठाउँमा पनि यसको उचाइ मिलाएर राख्न सकिन्छ । पोडवे प्रतिघण्टा १५० किलोमिटर गुड्न सक्ने उनको दाबी छ ।

 

मनकामना केबलकार वैशाख १० गते बन्द हुने Read Previous

मनकामना केबलकार वैशाख १० गते बन्द हुने

६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात, कुन देशबाट कति ल्याइयो ? Read Next

६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात, कुन देशबाट कति ल्याइयो ?