काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज करिब रु ३ अर्ब भुक्तानी गरेको छ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको रु २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ भुक्तानी गरेको हो ।
निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएसँगै जहाज खरिदबापत लिएको ऋणको विसं २०७९ असार महिनादेखि चैत ३० गतेसम्मको उक्त रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरिएको निगमले उल्लेख गरेको छ ।
निगमले २०७९ चैत्र महिनाको किस्ताबापत दुवै कोषलाई जम्मा रु ५३ करोड ९ लाख ५५ हजार २८१ रकम भुक्तानी गरेको छ । सोही वर्षको असारमा रु १ अर्ब ३५ करोड, असोजमा रु ७३ करोड ९ लाख ५५ हजार २८१, पुसमा रु ३३ करोड ९ लाख ५५ हजार २८१ र चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ गरी जम्मा रु २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रकम भुक्तानी गरिएको निगमले जनाएको छ ।
विश्वव्यापी कारोना महामारीका कारण निगमको व्यापार खुम्चियो । परिस्थिति सहज बनेपछि निगमको आम्दानीमा पनि सुधार आएकाले दुबै कोषलाई नियमितरुपमा किस्ता तिर्न सकिएको प्रवक्ता पौडेलले बताए ।