काठमाडौं । एभरेष्ट बैंकको नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६२.६३ प्रतिशतले बढेको छ ।
चालु आवको चैत मसान्तसम्म एभरेष्टले २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९५ करोड बढी हो । बैंकले गत वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ५१ करोड खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी, सञ्चालन नाफा, फी तथा कमिशन बढेसँगै बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.३८ प्रतिशत बढेर ५ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ६२.५९ प्रतिशत बढेर ३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।
हाल १० अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको सेयर प्रिमियम २३ करोड ८४ लाख, रिटेन्ड अर्निङमा ३ अर्ब ३६ करोड र जगेडा कोषमा ९ अर्ब ८६ करोड रुपैयाँ संचित छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३६ करोड रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकले १ खर्ब ८६ अर्ब निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको निक्षेप ७.७७ प्रतिशत र कर्जा १०.६० प्रतिशतले बढेको हो ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ९.२९ रुपैयाँ बढेर ३०.७४ रुपैयाँमा पुगेकोे छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २२५.८६ रुपैयाँ, खराब कर्जा ०.७ प्रतिशत, मूल्य आम्दानी अनुपात १६.५३ गुणा, बेसरेट ९.९४ प्रतिशत र सीडी रेसियो ८६.८२ प्रतिशत रहेको छ ।