काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सबै बैंकहरूले बिहीबार तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
सार्वजनिक विवरण अनुसार चैत मसान्तसम्म २१ वाणिज्य बैंकले कुल ४८ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ५ अर्ब ९ करोड रुपैयाँ बढी हो । गत वर्षको चैतसम्म बैंकहरूले कुल ४३ अर्ब ६१ करोड खुद नाफा कमाएका थिए । तेस्रो त्रैमासमा बैंकहरूको नाफा औसतमा ११.६७ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा १४ बैंकको नाफा बढेको छ भने ७ बैंकको घटेको छ । वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव, कर्जा लगानी सुस्त हुँदाका बाबजूद कर्जाको ब्याजदर बढेकाले बैंकहरूको नाफा बढेको हो ।
चालु आवको पहिलो त्रैमासदेखि नै प्रणालीमा लगानीयोग्य रकम अभावका कारण बैंकहरूले कर्जा लगानी गर्न सकेका छैनन् । यद्यपि, माघ यता बैंकिङ प्रणालीमा तरलता सहज भए पनि कर्जाको माग नहुँदा र बैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेको कारण बैंकरहरू झस्किँदा कर्जा लगानी हुन सकेका छैन ।
निक्षेप संकलन गर्न बढाइएको ब्याजदर वृद्धिले बैंकको लागत पनि सोही रुपमा बढेको छ । ऋणीले समयमै कर्जा लिएको रकम तिर्न नसक्दा बैंकको खराब कर्जा भने ह्वात्तै बढेको छ ।
समीक्षा अवधिमा नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा नबिलको नाफा ५२.६३ प्रतिशतले बढेको छ । गत वर्ष नेपाल बंगलादेश बैंकलाई गाभेको नबिलले मर्जरबाट प्राप्त सिनर्जीले आफ्नो व्यवसायमा छलाङ मार्न सफल भएको देखिन्छ ।
यस अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा सरकारी स्वामित्वको कृषि विकास बैंक रहेको छ । कृषिले चैत मसान्तसम्म १ अर्ब ४ करोड खुद नाफा कमाएको छ ।
१४ बैंकको नाफा बढ्यो, ७ बैंकको घट्यो
समीक्षा अवधिमा १४ वाणिज्य बैंकको नाफा बढेको छ भने ७ वटाको घटेको छ । यस अवधिमा एभरेष्ट बैंकको नाफा सबैभन्दा धेरै ६२.६३ प्रतिशतले बढेको छ । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड ६०.२५ प्रतिशत र नबिलको ५२.६३ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा कृषि विकास बैंक्को नाफा सबैभन्दा धेरै ४५.३६ प्रतिशतले घटेको छ । गत वर्ष १ अर्ब ९० करोड कमाएको कृषिले चालु आवमा १ अर्ब ४ करोड मात्र नाफा कमाउन सकेको छ ।
यसैगरी, समीक्षा अवधिमा सिद्धार्थ बैंकको २८.६५, सिटिजन्स २२.२४, नेपाल बैंक १८.७२ माछापुच्छ्रे १२.८८, पूाइम ९.३५ र सनराइज बैंकको नाफा ८.३३ प्रतिशतले घटेको छ ।
कुन बैंकले कति कमाए ?
समीक्षा अवधिमा नबिले सबैभन्दा धेरै ५ अर्ब ११ करोड नाफा कमाएको छ । त्यस्तै दोस्रो धेरै कमाउनेमा ग्लोबल आइएमई ४ अर्ब ३५ करोड, तेस्रोमा एनआइसी एशिया ४ अर्ब १ करोड रहेको छ ।
त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ५७ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा ३ अर्ब ४ करोड नाफा कमाएको छ ।
समीक्षा अवधिमा एनएमबी २ अर्ब ६८ करोड, स्ट्याण्डर्ड चार्टर्ड २ अर्ब ६१ करोड, प्राइम कमर्शिय र एभरेष्ट बैंकले समान २ अर्ब ४६ करोड नाफा कमाएका छन् ।
चैतसम्म १ दर्जन बैंकले २ अर्ब भन्दा कम नाफा कमाएका छन् । जसमा प्रभु, कुमारी, नेपाल एसबीआइ, हिमालयन र सानिमाको डेढ अर्ब बढी छ भने अरुको डेढ अर्बभन्दा कम छ ।