काठमाडौं । विश्वकै ठूलो मोबाइल फोन उत्पादन एप्पलले भारतमा आफ्नो आधिकारिब स्टोर खोलेको छ । एप्पले भारतको आर्थिक राजधानीको रुपमा रहेको मुम्बइमा मुलुककै पहिलो एप्पल स्टोर संचालनमा ल्याएको हो ।
सो स्टोरको कम्पनीका सीईओ टिम कुकले उद्घाटन गरे ।भारतीय सञ्चार माध्यमहरुका अनुसार मुम्बइमा एप्पल स्टोर उद्घाटन समारोह हेर्नका लागि देशभरबाट ठूलो संख्यामा मानिसहरु आएका थिए । उद्घाटन समारोहमा स्थानीय संगीत तथा लोकनाच प्रदर्शन समेत गरिएको थियो ।
एप्पलका प्रडक्टहरुको मुख्य बजारको रुपमा रहेपनि भारतमा हालसम्म एप्पलको आधिकारिक स्टोर थिएन । भारतमा अनलाइनबाट वा रिसेलरहरुको बृहत सञ्जालमार्फत् एप्पल प्रडक्टहरु बिक्री हुने गरेका थिए ।
विश्वको दोस्रो ठूलो स्मार्टफोन बजारको रुपमा रहेको भारतमा आफ्नो खुद्रा बजारलाई विस्तार गर्ने प्रयास गरिरहेको एप्पलले भारतमा पहिलो एप्पल स्टोर खोलेको हो । भारतमा अहिलेसम्म स्मार्टफोन बजारमा एन्ड्रोइडको दबदबा छ र स्मार्टफोन बजारको केवल ९ प्रतिशत हिस्सा मात्रै आइफोनको रहेको छ ।
एप्पलले भारतलाई आइफोनको उत्पादन बेसको रुपमा पनि विकास गर्दै गएको छ । आफ्नो आपूर्ति श्रृंखलालाई चीनबाहिर विविधिकरण गर्ने प्रयास एप्पलले गर्दै आएको छ । हाल विश्वमा कुल आइफोन उत्पादनको ५ प्रतिशत भारतमै हुने गरेको छ ।
भारतले यसअघि सन् २०२१ मै भारतमै भौतिक एप्पल स्टोर खोल्ने प्रयास गरेको भएपनि महामारीका कारण त्यो सफल हुन सकेको थिएन । बीबीसी