काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । आइतबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज दोहोरो अंकले फर्केको हो ।
सूचकमा सुधार आए पनि कारोबार रकम भने स्थिर रहेको छ । आज ८७ करोडको मात्र सेयर किनबेच भएको छ ।
बुधबार सेयर बजार मापक सूचक नेप्से १५.१३ अंकले बढेर १९२०.१२ बिन्दुमा पुगेको छ । यसदिन २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा धेरै १.२७ प्रतिशतले बढेको छ ।
आज स्वाबलम्बन लघुवित्तको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको पौने ९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक साढे ३ करोड र एनआइसी एशिया बैंक ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
बढ्दो बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कालिञ्चोक दर्शन, मोलुङ हाइड्रोपावर र गुराँस लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।