आगामी वर्षका लागि ५ लाख मेट्रिक टन रासायनिक मल ल्याउने तयारी

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले आगामी आर्थिक वर्षका लागि ५ लाख मेट्रिक टन रासायनिक मल भित्र्याउने तयारी गरेको छ ।

लिमिटेडका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले आगामी आगामी आर्थिक वर्षमा ५ लाख मेट्रिक टन रासायनिक मल ल्याउनका लागि समयमा बजेट विनियोजन गर्न सम्बन्धित निकायबीच निर्णय भएको जानकारी दिए ।

‘अघिल्ला वर्षमा बजेटको सही समयमा विनियोजन नहुँदा मलको कमी देखापरेको थियो तर आगामी आर्थिक वर्षका लागि चाहिने बजेट समयमा विनियोजन गर्न सरोकारवाला निकायसँग निर्णय भएकोले मलको कमी हुँदैन । लिमिटेडलाई पनि योजना तयार पार्न अनुकूल भएको छ,’ उनले भने।

उनका अनुसार बजारमा मलको कमी हुनुको मुख्य कारण बजेट विनियोजन समयमा नहुनु हो । उनले पछिल्लो वर्षका लागि मलको आवश्यकता परिपूर्ति गर्न पुस मसान्तभित्र आवश्यक बजेट चाहिने उल्लेख गरे । ‘खरिद प्रक्रियाको समयका कारण चैतमा प्राप्त भएको बजेटले कृषकको सही समयको माग पूरा हुन सक्दैन,’ पोखरेलले भने ।

मल वितरण निर्देशिकाबमोजिम लिमिटेडले ५ हजार ३०० सहकारी संस्थामार्फत स्थानीय तहसम्म मल बिक्री वितरण हुने गरेको छ । प्रबन्ध सञ्चालक पोखरेलका अनुसार साल्ट ट्रेडिङले ३० प्रतिशत र लिमिटेडले ७० प्रतिशत मल आपूर्ति गर्ने गरेका छन् ।

यस आर्थिक वर्ष कृषकलाई रासायनिक मल बढीमा सात लाख मेट्रिक टन र कम्तीमा ५ लाख मेट्रिक टन आवश्यक हुन्छ । ४ लाख मेट्रिक टन आउने क्रममा रहेको तर समयमा बजेट विनियोजन नभएका कारण एक लाख मेट्रिक टन कमी हुने पोखरेलले बताए ।

हाल लिमिटेडमा १ लाख मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र अरू आपूर्ति गर्नका लागि टेण्डर खोलिएको उनले जानकारी दिए ।

आव २०७८/७९ मा करिब १ लाख ७७ हजार ५०६ मेट्रिक टन आपूर्ति गरेकोमा यस आर्थिक वर्षमा हालसम्म खरिद र टेण्डर भएको जम्मा ३ लाख २४ हजार मेट्रिक टनमध्ये १ लाख ३८ हजार १०० टन भित्रिएको र १ लाख ३६ हजार ६०० टन बिक्री वितरण भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।

भारत सरकारबाट खरिद भएको युरियामध्ये ८ हजार २०० मेट्रिक टन प्राप्त भएको र २१ हजार ८०० मेट्रिक टन आउने क्रममा रहेको छ । १ लाख २३ हजार मेट्रिक टन सम्झौता भएको र ४० हजार मेट्रिक टन टेण्डर भएको मन्त्रालयले जनाएको छ ।

नबिल बैंकको कार्डबाट सामसङ मोबाइल किन्दा २ हजार क्यासब्याक पाइने Read Previous

नबिल बैंकको कार्डबाट सामसङ मोबाइल किन्दा २ हजार क्यासब्याक पाइने

होण्डाको चुज योर स्कीम, बाइक र स्कुटर किन्दा १ लाखसम्म नगद छुट Read Next

होण्डाको चुज योर स्कीम, बाइक र स्कुटर किन्दा १ लाखसम्म नगद छुट