काठमाडौं । प्रभु बैंकले आफ्ना २६ वटा शाखा कार्यालयहरू एक आपसमा गाभ्ने भएको छ ।
साविकको सेञ्चुरी कमर्शियल बैंकलाई गाभेर पुस २६ गतेदेखि एकीकृत कारोबार सुरु गरेको प्रभुले एकै स्थानमा दोहोरिएका शाखा कार्यालय गाभ्न लागेको हो ।
बैंकले साविकको सेञ्चुरी कमर्शियल बैंकका १२ वटा शाखा बन्द गरी प्रभु बैंकको शाखा कार्यालय भएको ठाउँबाट कारोबार गर्न लागेको हो । त्यस्तै, साविकको प्रभु बैंकको एउटा शाखा बन्द गरी साविकको सेञ्चुरी भएको ठाउँबाट कारोबार गर्ने भएको हो ।
बैंकले काठमाडौं उपत्यकाका १० र उपत्यका बाहिरका १६ गरी २६ वटा शाखा कार्यालय गाभ्न लागेको हो ।
बैंकका अनुसार साविकको सेञ्चुरी बैंकको विर्तामोड, बेलबारी, इटहरी, धरान, वीरगंज, न्यूरोड, हात्तीगौँडा, पेप्सीकोला, पुतलीसडक, बनेपा, बुटवल र भेरहवा शाखा बन्द गरी सोही ठाउँमा रहेका प्रभु बैंकका शाखाबाट सेवा दिन लागेको हो ।
त्यस्तै, साविकको प्रभु बैंककाे नयाँ बानेश्वर शाखा बन्द गरी सोही ठाउँमा रहेको सेञ्चुरी कमर्शिय बैंकको शाखा भएको ठाउँबाट सेवा दिने भएको हो ।
समायोजन तथा स्थानान्तरण भएका शाखा कार्यालयबाट वैशाख १७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने बैंकले जनाएको छ ।
