काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)को वरिष्ठ उपाध्यक्षका लागि भएको निर्वाचनको जिल्ला नगरतर्फको पनि मतगणना सम्पन्न भएको छ ।
अन्तिम मत परिणाम अन्जन श्रेष्ठले सबैभन्दा धेरै ४७ मत पाएका छन् । त्यस्तै, रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत पाएका छन् । अब वस्तुगततर्फको नतिजा आउन बाँकी छ ।
यसअघि एसोसियटतर्फ रामचन्द्र संघईले सबैभन्दा धेरै ६१३ मत पाएका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका अन्जन श्रेष्ठले ५७५ र उमेशलाल श्रेष्ठले ४२४ मत प्राप्त गरेका छन् ।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष हुनका लागि कुल मतको ५१ प्रतिशत मत ल्याउनुपर्छ । जसमा जिल्ला नगरको मतभार ५० प्रतिशत, एसोसियटको ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार रहेको छ ।
जिल्ला नगर र एसोसियटतर्फको नतिजा हेर्दा कुनै पनि उमेदवारको जितका लागि आवश्यक मत नआउने देखिन्छ । यससँगै अब वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणको चुनाव हुने देखिन्छ ।