काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)को वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । पहिलो चरणमा कुनै पनि उमेदवारले जितका लागि आवश्यक ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।
दोस्रो चरणको चुनावमा अब धेरै मत ल्याउने अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ बीच प्रतिस्पर्धा हुने भएको छ । तेस्रो भएका रामचन्द्र संघई भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
पहिलो चरणमा जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जनले सबैभन्दा धेरै ३७.९९ प्रतिशत मत प्राप्त गरेका छन् भने उमेशलालले ३१.५१मत प्राप्त गरेका छन् । तेस्रो भएका रामचन्द्रले ३०.४६ प्रतिशत मत पाएका चन् ।
पहिलो चरणको चुनाव अन्जनले जिल्ला नगर, संघईले एसोसियट र उमेशलाल श्रेष्ठले वस्तुगतमा सबैभन्दा धेरै भोट ल्याएका थिए ।

जिल्ला नगरतर्फ अन्जन श्रेष्ठले सबैभन्दा धेरै ४७ मत पाएका थिए भने रामचन्द्रले ३९ र उमेशलालले २८ मत पाएका थिए ।
त्यस्तै, वस्तुगततर्फ उमेशलालले ६९, अन्जनले ४१ र रामचन्द्र संघाईले १२ मत ल्याएका थिए ।
त्यसैगरी, एसोसियटतर्फ रामचन्द्र संघईले सबैभन्दा धेरै ६१३ मत पाएका थिए भने अन्जनले ५७५ र उमेशलालले ४२४ मत प्राप्त गरेका थिए ।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष हुनका लागि कुल मतको ५१ प्रतिशत मत ल्याउनुपर्छ । जसमा जिल्ला नगरको मतभार ५० प्रतिशत, एसोसियटको ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार रहेको छ ।