काठमाडौं । वाणिज्य बैंकहरूले वैशाखदेखि निक्षेपको ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको नेपाल बैंकर्स संघको बैठकले वैशाखादेखि निक्षेपको ब्याजदर एकल अंकमा झार्ने निर्णय गरेको हो ।
वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत संस्थागत मुद्दतीको ७.९९ प्रतिशत कायम हुने भएको छ । त्यस्तै, साधरण बचतको न्यूनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत हुने भएको छ ।
निक्षेपको ब्याजदर घटेसँगै वैशाखदेखि कर्जाको ब्याजदर पनि घट्ने भएको छ । बैंकहरूले गत माघदेखि निक्षेपको ब्याजदर क्रमशः घटाउँदै आएका छन् भने चैतमा प्रिमियम पनि १ प्रतिशत घटाएका थिए । अब वैशाखमा घटेको निक्षेप ब्याजदर समायोजन गर्दा बेसरेट घट्ने र कर्जाको ब्याजदर पनि केही सस्तिने भएको हो ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ आगामी वैशाखदेखि कर्जाको ब्याजदर घट्दै जाने बताउँछन् । ‘अब ब्याजदर दुई कारणले घट्छ । पहिलो भनेको बैंकहरूले वैशाखबाट ४.२ र असारबाट ४ प्रतिशत स्प्रेडदर कायम गर्नुपर्छ,’ उनले भने, ‘अर्को निक्षेपको ब्याजदर घट्दा बैंकको आधारदर पनि घटेर त्यसले क्रमशः कर्जाको ब्याजदर घटाउँछ ।’ यद्यपि, यति नै प्रतिशत घट्छ भनेर अहिल्यै भन्न नसकिने उनको भनाइ छ ।
तत्कालै कर्जाको माग ह्वात्तै नबढ्ने देखिएकाले ब्याजदर घट्ने अझै घट्नसक्ने उनले बताए । ‘सहज रूपमा कर्जा गएको छैन, अहिले प्रणालीमा तलता सहज हुँदा ब्याजदर घटेको हो । भोलि ब्याजदर घट्दा कर्जा धेरै प्रवाह भए फेरि ब्याजदर माथि जान पनि सक्छ,’ उनले भने, ‘तर, अहिले राष्ट्र बैंकले लिएको चालु पूँजी कर्जाको व्यवस्थाले पनि अनियन्त्रित कर्जा रोकिन्छ । कर्जा धेरै नबढेपछि निक्षेपमा सामान्य सुधार भयो भने पनि ब्याजदर अझै घट्न सक्छ ।’
निक्षेपको ब्याजदरमा फेरबदल हुँदा त्यसको तीन महिनापछि मात्र कर्जाको ब्याजदर असर पर्छ । बैंकहरूले आफ्नो आधारदरमा आएको परिवर्तन अनुसार कर्जाको ब्याजदर निर्धारण गर्छन् । यस्तो आधारदर बैंकले निक्षेपमा दिएको ब्याजदर र उसको लागत अनुसार तय हुन्छ । संस्थाहरूले निक्षेपको ब्याजदर घटाउँदै गएका कारण बैंकको लागत पनि घट्दै गएको छ भने जसको असर कर्जाको ब्याजदरमा पनि देखिन्छ ।
उच्च ब्याजदरका कारण बैंकहरूले यस वर्ष कर्जा लगनी गर्न कसका छैनन् । अर्थतन्त्रमा सुस्तता देखिएपछि बैंकहरू ब्याजदर घटाउनु पर्ने चौतर्फी दबाबमा थिए । सोही कारण बैंकहरू ब्याजदर घटाउनु पर्ने निष्कर्षमा पुगेका हुन ।
कति घट्ला कर्जाको ब्याजदर ?
अहिले बैंकहरूको आधारदर ओरालो लागेको छ । गत माघमा १०.७२ रहेको बैंकको आधारदर फागुनमा आइपुग्दा घटेर १०.६४ प्रतिशतमा झरेको छ । चैतमा अझै ओरालो लाग्ने आकलन गरिएको छ । चैतमा बैंकको आधारदर पनि एकल अंकमा आए ५ प्रतिशतसम्म प्रिमियम जोड्दा ऋणीले १४ प्रतिशतसम्म ब्याजदरमा कर्जा पाउनेछन् ।
ऋणीले यसअघि १८ प्रतिशतसम्म ब्याज तिर्दै आएका थिए । अब वैशाखदेखि कम्तीमा १ देखि २ प्रतिशतको बीचमा कर्जाको ब्याजदर घट्न सक्ने बैंकरहरू बताउँछन् ।
‘बैंकहरूले यसअघि घटाएको निक्षेपको ब्याजदरको इफेक्ट वैशाखको कर्जाको ब्याजदरमा पर्छ,’ खालिङले भने, ‘अहिले बैंकहरूले वैशाखदेखि निक्षेपमा एक प्रतिशतले ब्याजदर घटाउने निर्णय गरेका छन् । यसले बैंकको आधारदर घट्दै जान्छ र त्यसको दर घटेर आएपछि कर्जाको ब्याजदर घट्छ ।’
नेपाल राष्ट्र बैंकका अनुसार गत माघमा निक्षेपको ब्याजदर औसतमा ८.४१ प्रतिशत रहेकोमा फागुनमा घटेर ८.३७ कायम भएको छ । हाल कर्जाको औसत ब्याजदर १३.०३ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ब्याजदर १०.६० पुगेको थियो । यसैगरी अहिले अन्तर बैंकदर पनि ५.२८ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
बैंकहरूको स्प्रेड दर पनि घट्दो क्रममा छ । अहिले ४.२ प्रतिशत रहेको स्प्रेड आगामी असारमा ४ प्रतिशमा झार्नु पर्छ । जसको कारण कर्जाको ब्याजदर सस्तीने बैंकरहरू बताउँछन् ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले निक्षेपको ब्याजदर घटिसकेपछि कर्जाको ब्याजदर पनि घट्ने बताए । ‘यसरी सधै कार्टेलिङ गरेर ब्याजदर निर्धारण गरेर बजार स्मुथ हुँदैन । निक्षेपको ब्याजदर घटिसकेपछि कर्जाको ब्याजदर पनि घट्छ,’ उनले भने, ‘हुन त तीन महिनामा बैंकको बेस रेट र त्यसअनुसार कर्जाको ब्याजदर हेरफेर हुन्छ । तर अब विस्तारै घट्दै जान्छ ।’