काठमाडौं । सेयर बजारले झन्डै शतकको छलाङ मारेको छ । वैशाखदेखि निक्षेपको ब्याजदर घट्ने भएसँगै नेप्सेमा ९२ अंकको उछाल आएको हो ।
निक्षेपको ब्याजदर घटेसँगै वैशाखदेखि कर्जाको ब्याजदर समेत घट्ने भएकाले लगानीकर्ताको मनोबल बढ्दा नेप्सेले छलाङ मारेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि उछाल आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम दोब्बरले बढेर झन्डै २ अर्ब पुगेको छ ।
बुधबार सेयर बजार मापक सूचक नेप्से ९२.२२ अंकले बढेर १९६३.५५ बिन्दुमा पुगेको छ । यसदिन २६७ कम्पनीको ६१ लाख ७ हजार ४२५ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ६.८४ प्रतिशतले बढेको छ ।
आज पनि शिवम सिमेन्ट सर्वाधिक कारोबार भएको छ । यसको साढे ११ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैंक र हिमालयन डिस्ट्रीलरीको ६/६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उछाल आएको बजारमा आज आधा दर्जन बढी कम्पनीके सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिद्धार्थ इक्वीटी फण्ड, सिटिजन्स म्युचसल फण्ड १, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ, आदर्श लघुवित्त र खप्तड लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, कालिञ्चोक दर्शन, गणपति लघुवित्त, बलेफी हाइड्रोपावर र सबैको लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।