चलखेल गरेर लघुबीमाको लाइसेन्स वितरण, पूँजी पुर्‍याउन नसक्नेलाई झन् सुविधा

काठमाडौं । बीमा प्राधिकरणले छनोट गरेका ७ वटा लघुबीमा कम्पनी मध्ये हालसम्म ४ वटा कम्पनीले मात्र तोकेको चुक्ता पूँजी पुर्याएका छन् भने अझै ३ वटाले पुर्याउन सकेको छैनन् ।

प्राधिकरणका अनुसार हालसम्म गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सले मात्रै चुक्ता पूँजी कायम गरेका हुन् । प्राधिकरणले लघुबीमा कम्पनीको न्यूनतम चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकेको छ ।

अझै, स्टार माइक्रो इन्स्योरन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले तोकिएको चुक्ता पूँजी पुर्याउन सकेका छैनन् । पहुँच र तीव्र चलखेलका बीच अनुमति पाएका कम्पनीले चुक्ता पूँजी पुर्याउन नसके पनि प्राधकरणले भने सहुलियत दिएको छ । पूँजी पुर्याउन नसकेका कम्पनीलाई प्राधिकरणले थप ४५ दिनको समय दिएर सहुलियत दिएको छ ।

तोकिएको समयमा पूँजी कायम गर्न नसक्ने कम्पनीलाई कारबाही गर्नुको सट्टा प्राधिकरणले उल्टो समय थप गरिदिएको हो ।अनुमति पाएका कम्पनीले चुक्ता पूँजी पुर्याउन नसकेपिछ  राजनतिक पहुँच र प्रभावमा समय थप गरेकाे बताइन्छ ।

लघुबीमा लाइसेन्सका लागि ३ दर्जन कम्पनीले आवेदन दिएका भए पनि प्राधिकरणले ७ वटा कम्पनीलाई मात्र अनुमति दिएको थियो ।समयमै चुक्ता पूँजी पुर्याउने सक्ने क्षमता नभएका कम्पनीले पनि चलखेल मार्फत लाइसेन्स हात पारेका थिए ।

दुई कम्पनीले पाए लाइसेन्स

लघुबीमा व्यवसायका लागि छनोट भएको सात मध्ये दुई कम्पनीलाई संचालन इजाजत अनुमतिपत्र (लाइसेन्स) दिएको छ । आइतबार बसेको प्राधिकरणको सञ्चालक समितिले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सले व्यवसाय गर्ने अनुमति दिएको हो ।

नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडलले दुई लघुबीमा कम्पनीलाई लाइसेन्स दिने प्राधिकरणले निर्णय गरेको बताए ।
‘प्राधिकरणको बोर्ड मिटिङले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलाई व्यवसाय गर्न अनुमति दिने निर्णय गरेको हो,’ उनले भने, ‘अनुमति पाएका यी कम्पनीहरूले ६ महिना भित्र व्यवसाय सुरू गरिसक्नु पर्छ ।’ अन्य कम्पनीहरू पनि व्यवसाय अनुमति दिने प्रक्रियामा रहेको उनले बताए ।

प्राधिकरणले लघु जीवन र निर्र्जीवन बीमा कम्पनीको लागि ८ वटा लगानीका क्षेत्र तोकिदिएको छ । ग्रामीण क्षेत्रमा रहेको ठूलो हिस्सालाई बीमाको दायरामा ल्याउन प्राधिकरणले लघुबीमाको कम्पनी स्थापनाको आवश्यकता महशुस गरेको अधिकारीको दाबी छ ।

कृषि तथा पशुपालन क्षेत्रको ससानो व्यवसायको जोखिमलाई कम गर्न लघुबीमाको आवश्यकता रहेको प्राधिकरणको निष्कर्ष थियो । हाल लघुबीमा व्यवसाय सञ्चालनमा रहेका ठूला बीमा कम्पनीहरूले गर्दै आएका छन् । ती कम्पनीहरूले कुल व्यवसायको अनिवार्य १० प्रतिशत लघु बीमा गर्नु पर्ने प्रावधान छ । तर, प्राधिकरणले बीमा कम्पनीलाई अनुगमनको दायरामा ल्याउन भन्दा लघुबीमा कम्पनी नै स्थापना गर्न लाइसेन्स दिएको छ ।

लाइसेन्समा राजनीतिक स्वार्थ

लघु बीमा कम्पनीको स्थापना गर्न सरकारले चालु आर्थिक वर्षको बजेटमै समेटेको छ । बजेटले नै लघुबीमा कम्पनी स्थापना गर्ने बाटो खुला गरिदिएपछि प्राधिकरणलाई थप सहज भएको थियो । अघिल्लो वर्षदेखि नै लघुबीमा कम्पनीको लाइसेन्स दिने बाटो खोजिरहेको प्राधिकरणले त्यत्ति बेलादेखि गृहकार्य गरिरहेको थियो ।

कोभिडको समयमा केही व्यापारिक घरानाको लाभको लागि हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिइएको थियो । पछि सो कम्पनीको व्यवसाय समेत ग्यारेन्टी गरिदिन बीमकहरूलाई शतप्रतिशत पुनर्बीमा स्वदेशमै गर्न निर्देशन जारी गर्यो ।

प्राधिकरणको चौतर्फी आलोचना पछि उक्त निर्देशनबाट पछि हटे पनि बीमा कम्पनीको एकातिर मर्जर र अर्कोतिर लाइसेन्स वितरणको शिलशिला भने रोकिएन् । गत चैतमा कम्पनीको संख्या घटाउन जीवन र निर्जीवन बीमा कम्पनीको पूँजी एक वर्षभित्र साढे दुई गुणाले बढाउन निर्देशन दिएको छ । तर, हालसम्म केही कम्पनी बाहेकले चुक्ता पूँजी कायम गर्न सकेका छैनन् ।

त्यसको एक वर्ष नपुग्दै अर्कोतिर नेतृत्वसँगको साँठगाठमा चलखेल गरेर लघुबीमा कम्पनी स्थापना प्रक्रिया अघि बढाएको हो । गत मंसिरमा सम्पन्न निर्वाचन नजिकिने बेला मन्त्रालयबाट बाहिरिने अन्तिम चरणमा अर्थमन्त्री जनार्दन शर्मा र तत्कालीन सत्ता साझेदारको स्वार्थका लागि विभिन्न कम्पनीहरूको लाइसेन्स वितरण गर्ने र पैसा अशुल्ने लहर नै चलाएका थिए ।

सेयर बजारमा कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

सेयर बजारमा कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

लघुबीमा निर्देशन जारी, २१ दिनभित्र भुक्तानी गरिसक्नुपर्ने Read Next

लघुबीमा निर्देशन जारी, २१ दिनभित्र भुक्तानी गरिसक्नुपर्ने