लघुबीमा निर्देशन जारी, २१ दिनभित्र भुक्तानी गरिसक्नुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘लघुबीमा निर्देशन २०७९’ जारी गरेको छ । प्राधिकरणले लघु बीमा व्यवसायको विकास, प्रबद्र्धन तथा व्यवस्थापन गरी बीमा मार्फत न्यून आय वर्गको जीवन तथा सम्पत्तिको सुरक्षाका लागि उक्त निर्देशन जारी गरेको हो ।

निर्देशन अनुसार कम्पनीहरुले जीवन लघुबीमा लेख कम्तीमा १ वर्ष वा सोभन्दा बढी अवधिका लागि मात्र गर्न पाउने भएका छन् । त्यस्तै, निर्जीवन लघुबीमा लेखको हकमा १ वर्ष वा सोभन्दा कम अवधिको लागि मात्रै जारी गर्न पाउने व्यवस्था छ ।

प्राधिकरणले बीमकले बीमितबाट पूरा बीमाशुल्क प्राप्त नगरी लघु बीमालेख जारी गर्न नपाइने व्यवस्था गरेको छ । तर, नेपाल सरकार, प्रदेश सरकारले वा स्थानीय तहले बीमालेखमा अनुदान उपलब्ध गराएको भए सो बराबरको रकम घटाई बाँकी बीमाशुल्क लिएर बीमा गर्न सकिनेछ ।

बीमा कम्पनीहरुले लघुबीमा दाबी भुक्तानी सम्बन्धि आवश्यक कागजपत्र प्राप्त भएको बढीमा २१ दिन भित्र दायित्व एकीन गरी भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, लघु बीमालेखको बीमाशुल्कमा कुनै प्रकारको छुट (डिस्काउन्ट),प्रदान गर्न वा बीमाशुल्क कटौती गर्न वा सहुलियत दिन पाइने छैन् । तर बीमा अभिकर्ताको प्रयोग नगरी सिधै बीमालेख बिक्री प्रत्यक्ष बीमा गरीको हकमा भने ५ प्रतिशतका दरले हुन आउने रकम छुट पाउने निर्देशनमा व्यवस्था छ ।

निर्देशन अनुसार निर्देशनमार्फत लघु बीमाको सीमा पनि तोकिएको छ । घर, सम्पत्ति तथा व्यवसाय र सवारी साधनको रु ५० लाखसम्मको लघु बीमा गर्न सकिनेछ । दायित्व तथा मौद्रिक क्षतिको र अन्य लघु बीमाका लागि अधिकतम रु पाँच लाखसम्मको लघु बीमा गर्न पाइनेछ ।

त्यस्तै, जीवन बीमा कम्पनीले अधिकतम रु पाँच लाखसम्मको बीमाङ्क भएको लघु बीमा मात्रै जारी गर्न पाउनेछन् । लघु बीमा कम्पनीहरूले टेलिकम, इन्टरनेट सेवा प्रदायक, भुक्तानी सेवा प्रदायक, स्टोर, होटल, रेस्टुरेन्टलगायत आपूर्ति शृङ्खलामा आबद्ध सङ्घसंस्थासँग सहकार्य गरी लघु बीमा जारी गर्न सक्ने व्यवस्था पनि निर्देशनमा राखिएको छ ।

 

चलखेल गरेर लघुबीमाको लाइसेन्स वितरण, पूँजी पुर्‍याउन नसक्नेलाई झन् सुविधा Read Previous

चलखेल गरेर लघुबीमाको लाइसेन्स वितरण, पूँजी पुर्‍याउन नसक्नेलाई झन् सुविधा

दराजबाट सामान किन्दा सानिमा बैंकका ग्राहकले २०% सम्म छुट पाउने Read Next

दराजबाट सामान किन्दा सानिमा बैंकका ग्राहकले २०% सम्म छुट पाउने