हेटौंडाका उद्योगले साढे २ अर्ब विद्युत महशुल तिर्न बाँकी, कारबाही प्रक्रिया अघि बढ्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रलाई विद्युत् महसुलवापत यहाँका उद्योगले रु २ अर्ब ५५ करोड ५२ लाख ८२ हजार ८४९ बुझाउन बाँकी छ ।

लामो समयदेखि पटक–पटक ताकेता गर्दासमेत चालु आर्थिक वर्षको हालसम्म ती उद्योगबाट महुसुल नबुझाइएको उक्त केन्द्रले जनाएको छ ।

केही उद्योगविरुद्ध महशुलसम्बन्धी मुद्दासमेत चलिरहको छ भने महसुल नतिर्ने ५४२ उद्योगलाई कालो सूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

कालोसूचीमा परेका केही ग्राहकबाट कारबाहीस्वरुप रु ७९ हजार २४१ सङ्कलन भएको बताइएको छ । चालु आवको हालसम्म रु ५ हजारभन्दा बढी विद्युत् महसुल नतिर्ने ९७३ ग्राहकको लाईन काटेर कारबाही गरिएको केन्द्रका प्रमुख नरेन्द्रवीर श्रेष्ठले जानकारी दिए ।

कारबाहीमा परेपछि ६१७ जनाले जरिवाना तिरेर निवेदन दिएकाले लाइन जोडिएको र त्यसबाट रु २ करोड ५३ लाख ९५ हजार महसुल सङ्कलन भएको जनाइएको छ ।

हेटौँडामा ७२ हजार ६९४ग्राहक रहेकामा वितरण केन्द्रले मासिक रु १९ करोड १७ लाख ८८ हजार मूल्य बराबरको विद्युत् विक्री गर्दे आएको र रु १८ करोड ६ लाख १२ हजार महसुलबापत राजस्व सङ्कलन हुँदै आएको छ । साथै विद्युत् प्राधिकरणको पोल प्रयोग गरेबापत विभिन्न ६ वटा इन्टरनेट कम्पनीले रु ५३ लाख ५० हजार राजस्वसमेत बुझाएको बताइएको छ ।

यसैबीच ग्रामीण विद्युतीकरणअन्तर्गत जिल्लाका हेटौंडा उपमहानगरपालिकालगायत वकैया, राक्सिरागङ, मकवानपुरगढी, कैलाश, भीमफेदी गाउँपालिकाका साथै अन्य गाउँपालिकाको ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण थालिएको वितरण केन्द्रका इञ्जिनियर सन्तोष चौहानले वताए ।

सो कार्यका लागि रु १८ करोडभन्दा बढी बजेट छुट्याइएकामा कतिपय स्थानमा काम सम्पन्न भइसकेको छ भने कतिपय स्थानमा कार्य भइरहको बताइएको छ । मनहरिमा विद्युत् सवस्टेशन निर्माण प्रक्रियासमेत अगाडि बढेको जनाइएको छ ।

एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना Read Previous

एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना

सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Next

सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी