काठमाडौं । एनआइसी एशिया बैंकले सोसाइटी माघरेबिन दी मोन्टीक्यू सिस्टमसँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच (इलेक्ट्रीक फण्ड ट्रन्सफर-ईएफटी’ सञ्चालनमा ल्याएको छ ।
बैंकले हालै मात्र उक्त पूर्वाधारको सफलतापूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी प्रणालीमा आबद्ध गरेको छ । डिजिटल कारोबारमा ग्राहकको बढ्दो उपस्थितिलाई मध्येनजर गर्दै बैंकले कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउनका निमित्त आफ्नै पूर्वाधार खडा गरेको हो ।
यस स्वीचको मद्दतले यस बैंकका पीओएस र एटीएम टर्मिनलहरू मार्फत गरिने कारोबारलाई अन्तर आबद्धता स्थापित गरी कारोबारलाई सुरक्षित र सरल समेत बनाउन ठोस टेवा मिल्नेछ ।
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप आधुनिक प्रविधिहरू आत्मसात गर्दै बैंकले सञ्चालनमा ल्याएको यस स्वीचको उच्चतम सदुपयोग गरी ग्राहक माझ नवीनतम प्रविधिमा आधारित विभिन्न डिजिटल प्रोडक्ट तथा सेवाहरू पुर्याउन मद्दत पुग्ने बैंकको विश्वास छ ।
एनआइसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०७ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।