काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले प्राथमिक साधरण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले आइपीओ निष्कासनका लागि नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडसँग सम्झौता गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । सोमध्ये चुक्ता पूँजीजीको २ प्रतिशत अर्थात् रु ४ करोड ३० लाख रुपैयाँको परियोजना प्रभावित स्थानीयलाई र १० प्रतिशत अर्थात रु २१ करोड ५० लाख बराबरको सेयर सर्वसाधारणलाई छुट्याइने छ ।
आइपीओ निष्कासनका लागि बुधबार नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माबीच धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे।
कुल रु ३ अर्ब ४९ करोड लागत रहेको कम्पनीको चुक्ता पूँजी रु २ अर्ब १५ करोड छ । परियोजना निर्माण विसं २०७६ साउन ४ मा सुरु भएको थियो । कम्पनीले केबलकार, पाँच तारे होटल, जीप लाइन, बन्जी जम्प, क्यान्टि लिभर सहितको सिसाको पुल, क्विन टावर लगायतका पूर्वाधार निर्माण गर्दैछ ।
कम्पनीले विसं २०८० वैशाख २५ गते केबलकार सञ्चालनका लागि परीक्षण गर्ने तयारी थालेको छ भने पाँच तारे होटल आगामी मङ्सिरमा सञ्चालन गर्ने कम्पनीको तयारी छ । बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गादेखि बरालथोकसम्म पुग्छ । केबलकार एक किलोमिटर लम्बाइको हुनेछ ।