काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै सोमबार बोलकबोल प्रक्रियामार्फत २८, ९१, १८२ र ३६४ दिन अवधिको ट्रेजरी बिल जारी गर्न लागेको जानकारी गराएको हो।
केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी वैशाख १२ गते परिपक्व हुनेछ ।
यस्तै, राष्ट्र बैंकले ९१ दिनको लागि ११ अर्ब ५० करोड, १८२ दिनका लागि ६० करोड र १ वर्षका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
९१ दिन अविधको रुपैयाँको ट्रेजरी २०८० असार १२ गते, १८२ दिनको २०८० असोज ९ गते र १ वर्षे अवधिको ट्रेजरी २०८० चैत १३ गते परिपक्व हुनेछ ।
बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर(बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ।
यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।
ट्रेजरी बिल १ वर्ष वा साेभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।