केही सहकारी बन्द भएपछि चलिरहेका पनि समस्यामा पर्न थाले

दाङ । बजारमा केही सहकारी बन्द भएपछि चलिरहेका सहकारी पनि समस्यामा पर्न थालेका छन् । केही सहकारी बन्द हुन थालेपछि चलिरहेका अन्य सहकारीमा पनि बचत फिर्ता माग्न आउनेको घुइँचो लाग्न थालेको छ ।

पछिल्लो समय केही सहकारी बन्द हुने अवस्थामा पुगेपछि आफ्नो सहकारीप्रति पनि शेयर सदस्यले आशङ्का गर्न थालेका तुलसीपुर–६ स्थित राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईन्द्रबहादुर बुढाथोकीले बताए ।

उनका अनुसार सरकारीले सदस्यको बचतबाहेक पनि रू ६४ लाख ५७ हजार नाफा गरेको छ । ‘पछिल्लो समय सहकारीप्रति देखिएको समस्याले हाम्रा सहकारीमा पनि केही आशङ्का हुनु स्वभाविकै हो तर चलिरहेका राम्रा सहकारीमा कुनै समस्या छैन,’ अध्यक्ष बुढाथोकीले भने । ठूला ऋणीहरुले पैसा तिर्नुपर्दैन भनेर हावा फैलाएको भन्दै त्यसको पछि नलाग्न उनले सबैमा अनुरोध गरे ।

विसं २०५४ चैत ८ गते स्थापित उक्तसहकारीको बैंक मौज्दात रू तीन करोड २४ लाख छ, भने २१ करोड ६७ लाख ऋण लगानी भएको छ भने जम्मा रू २५ करोड ८५ लाख ७९ हजार छ । सहकारीले ८१० जनालाई ऋण लगानी गरेको सहकारीका उपाध्यक्ष रञ्जनकुमार गौतमले बताए । सहकारीमार्फत विभिन्न सात उद्देश्यमा ऋण प्रवाह गर्ने गरिएको उनको भनाइ छ ।

सुरुमा ४१ जनाले सञ्चालन गरेको उक्त सहकारीमा हाल तीन हजार दुई सय ९८ शेयर सदस्य छन् । यसको दाङको तुलसीपुर उपमहानगरपालिकासहित दङ्गीशरण, बबई, शान्तिनगरलगायत कार्यक्षेत्र छ । बबईको हङ्सपुर र शान्तिनगरको रगैजामा सहकारीको सेवा केन्द्र छन् ।रासस

विदेशमा रहेका श्रमिकका लागि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरू हुँदै Read Previous

विदेशमा रहेका श्रमिकका लागि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरू हुँदै

२२ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक Read Next

२२ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक