काँकरभिट्टा । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठले आफूले वरिष्ठ उपाध्यक्ष भएपछि अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरूबीच सेतुको रूपमा काम गर्ने बताएका छन् ।
कोशी प्रदेशको काँकरभिट्टामा बुधबार आयोजित ‘लथालिङ्ग अर्थतन्त्र किन, कसरी, को जिम्मेबार ?’ विषयक कार्यक्रममा आफूले एफएनसीसीआइका अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरूबीच सहयोगी र सेतुको रूपमा काम गर्ने बताएका हुन् ।
‘मैले वरिष्ठ उपाध्यक्ष भएपछि अहिलेको जस्तो नभई अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरूबीच सेतुको रूपमा काम गर्नेछ,’ उनले प्रतिबद्धता जाहेर गरे, ‘विधानमा वरिष्ठ उपाध्यक्षको कामको बारेमा व्याख्या नगरेपनि आफूले सक्रियरूपमा उद्योगी व्यवसायीहरूको समस्या समाधानमा काम गर्नेछु ।’
उनले उद्योगी व्यवसायीहरूको समस्या समाधान गर्र्दै अर्थतन्त्रलाई सुधार गर्न र सक्रियरूपमा सहकार्य गर्ने पनि बताए । ‘हामी आफैंले एसएमसईबाट व्यवसाय शुरु गरेर अहिलेसम्म यहाँ आएको हुँ । त्यसैले व्यवसायका समस्याहरूबारेमा पनि परिचित छ,’ उनले भने, ‘अहिले बजारमा समस्या छ र हामी सबै ऋण र ब्याज तिर्न कठिनाई भोगिरहेका छौं । त्यसलाई कसरी समाधान गर्नेमा पनि उत्तिकै चिन्तित छु ।’
कार्यक्रममा पूर्व अर्थसचिव शिशिर ढुंगानाले अर्थतन्त्र निगरानी प्रणाली कमजोर हुँदा अहिले समस्या आएको भन्दै निजी क्षेत्रसँग समेत सल्लाह नगर्दा यसले थप असर पारेको बताए ।
‘अहिले राजस्व आम्दानी माइनसमा गयो । जसले सरकारको सार्वजनिक खर्च संकुचित बनायो । यसले बजारमा पैसा जान सकेन र सबैतिर समस्या भयो,‘ उनले भने । बैंक तथा वित्तिय क्षेत्रलाई कोभिडपछि सबै छाडिएको तर अहिले सबै एकैपटक कस्ने नीतिले समस्यामा पारेको उनले स्पष्ट पारे ।
‘नीति बनाउँदा पर्याप्त सल्लाह नभएको देखिन्छ । सामुहिक सल्लाह समेत गरिएन र निजी क्षेत्रसँग समेत सरसल्लाह भएन्,’ पूर्व सचिवले ढुंगानाले भने, ‘मौद्रिक नीतिमा समिक्षा भएन र प्राइभेट सेक्टरसँग छलफल नै गरिएन् ।’
सरकारले अर्थतन्त्र सुधार गर्न आशा सिर्जना गर्नुपर्ने नत्र निजी क्षेत्र निराश हुने र थप आर्थिक असर पर्ने उनको भनाइ छ । कार्यक्रममा कोशी प्रदेशमा आधारित रहेर पत्रकारीता गर्दै आएका विराट अनुपमले प्रदेशमा आर्थिक गतिविधिका लागि उच्चतम संभावना भएको भन्दै बीबीआइएनमा कोशी प्रदेशले नेतृत्व लिनसक्ने औंल्याए ।
उनले नेपालको पूर्वी नाकाबाट बंगलादेश, भुटान भारतलगायतका देशहरूसम्म यातायात सहजता भएको हुँदा यसले बजार विस्तार गर्न सकिने बताए । ‘हामीले कोशी प्रदेशमा ह्याट अर्थात हाईड्रोपावर, एग्रिकल्चर तथा एभिएसन र ट्रेड, टुरिजम तथा ट्रान्जिटको लागि योजना बनाउनुपर्नेछ । यसमा हामीले गर्न सक्ने धेरै काम छ र यसलाई निजी क्षेत्रले लगानी गरेर अगाडि जानुपर्छ,‘ उनले भने ।