सामाजिक सुरक्षा कोषमा समेटिने श्रमिक ४ लाख नाघे, ३० अर्ब संकलन

काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या ४ लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको ४ वर्षमा ४ लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन् ।

कोषले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट ३ लाख ७ हजार ७१८ श्रमिक सूचीकृत भएका छन् ।

त्स्तै, कोशी प्रदेशबाट ३८ हजार ९५७, मधेस प्रदेशबाट २१ हजार २५८, गण्डकी प्रदेशबाट १५ हजार २४१, लुम्बिनी प्रदेशबाट १४ हजार ९९, सुदूरपश्चिम प्रदेशबाट १ हजार ५२९ र कर्णाली प्रदेशबाट १ हजार २२८ श्रमिक सूचीकृत भएका छन् ।

कोषले आगामी असार मसान्तसम्म ५ लाख श्रमिकलाई सूचीकृत गराउने लक्ष्य लिएको छ । कोषमा १७ हजार ७३९ रोजगारदाता आबद्ध भएका छन् । कोषले हालसम्म रु ३० अर्ब ११ करोड योगदान सङ्कलन गरेको छ । कोषले विभिन्न योजनाबापत योगदानकर्तालाई रु ३ अर्ब ८३ करोड दाबी भुक्तानी गरेको छ ।

पछिल्लो समय कोषले सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै लगेको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको कोषले जनाएको छ ।

औपचारिक क्षेत्रका श्रमिकलाई योजनामा आबद्ध गराउँदै आएको कोषले बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई पनि कोषमा सूचीकृत गराउन थालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आयोजित १ कार्यक्रमबीच वैदेशिक क्षेत्रमा रहेका श्रमिकलाई कोषमा सूचीकृत गराउने कार्यको थालनी गरेका थिए ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सूचीकृत गराउन सुरु भएसँगै विदेशमा रोजगारी र स्वरोजगारमा रहेका लाखौँ श्रमिक योजनामा समावेश हुने अनुमान गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले लामो समयदेखि वैदेशिक रोजगारीमा रहेको श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न सरकारसँग आग्रह गर्दै आएको थियो ।

कोषले नियमितरुपमा योगदान गर्ने योगदानकर्तालाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरी विभिन्न योजना सञ्चालन गरिरहेको छ ।

एफएनसीसीआइको अध्यक्ष र व्यवसायी बीच सेतुको रूपमा काम गर्छु : उपाध्यक्ष श्रेष्ठ Read Previous

एफएनसीसीआइको अध्यक्ष र व्यवसायी बीच सेतुको रूपमा काम गर्छु : उपाध्यक्ष श्रेष्ठ

२०८० सालमा बैंक बन्द हुने दिन सार्वजनिक (सूचीसहित) Read Next

२०८० सालमा बैंक बन्द हुने दिन सार्वजनिक (सूचीसहित)