निर्यातमा आशलाग्दो संकेत, यी हुन् धेरै निर्यात भएका ७ वस्तुहरु

काठमाडौं । नेपालको वैदेशिक व्यापारको स्थिति कहालीलाग्दो भए पनि केही वस्तुहरुको निर्यातमा भने सन्तोषजनक प्रगति देखिएको छ । भन्सार विभागले हालै प्रकाशन गरेको ३ महिनको तथ्याङ्कले नेपालका केही वस्तुको निर्यात अवस्था सन्तोषजनक नै रहेको देखाएको हो ।

 

चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो ३ महिनमा गलैंचा, अलैंची, जुस, उलन तथा पश्मिनाका सल, जुट व्याग, र जुत्ता–चप्पलजस्ता वस्तु अर्बभन्दा बढी रकमको निर्यात भएको छ । नेपालले उक्त वस्तुहरु भारत, अमेरिका, जर्मनी, बेलायत, चीन, टर्की, फ्रान्स, बंगलादेश, जापान, इटालीलगायतका देशहरुमा सबैभन्दा बढी निर्यात गर्दै आएको तथ्याङ्कले प्रस्ट पारेको छ ।

 

तयारी पोसाक

नेपालबाट निर्यात हुने वस्तुमध्ये सबैभन्दा बढी हिस्सा तयारी पोसाकले ओगटेको छ । तयारी पोशाक उद्योग धरासायी भएको करिब १३ वर्ष भइसकेको छ । नेपालमा तयारी पोशाक उत्पादन गर्ने धेरै उद्योगी पलायन भएसँगै उद्योगहरु बन्द पनि भए । तर, चालु आवको पहिलो ३ महिनामा नेपालबाट निर्यात हुने वस्तुमध्ये सबैभन्दा बढी तयारी पोसाक रहको भन्सार विभागको तथ्याङकले देखाएको छ ।

 

चालु आवको पहिलो ३ महिनामा २ अर्ब ५३ करोड रुपैंया बराबरको तयारी पोसाक निर्यात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा यसको निर्यात वृद्धि भएको हो । गत वर्ष सोही ३ महिनाको अवधिमा तयारी पोसाकको निर्यात २ अर्ब रुपैंया बराबर मात्रै भएको थियो ।

 

अलैंची

पूर्वीपहाडको सुन मानिने अलैंची नेपालबाट निर्यात हुने आर्को प्रमुख वस्तुको सूचीमा पर्छ । भारतले विभिन्न बहानामा आयातमा लगाउने रोकको कारण नेपालको अलैची निर्यात प्रभावित बन्ने गरेको छ । यद्यपी चालु आवको ३ महिनामा नेपालबाट ठूलो परिमाणमा अलैंची निर्यात भएको छ । विभागको तथ्याङ्क अनुसार ३ महिनामा १ अर्ब २६ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको हो ।

 

जुस

भारत निर्यात हुने प्रमुख वस्तुको सूचीमा जुस पनि पर्ने गर्छ । नेपालबाट चालु आवको पहिलो ३ महिनामा ९९ करोड रुपैंया बराबरको जुस निर्यात गरेको छ । भारतीय लगानीको डाबर नेपाल प्रालि नै जुस निर्यात गर्ने प्रमुख कम्पनी हो । जुसको ब्यापार भने फस्टाउँदो रहेको तथ्यांकले देखाएको छ ।

 

गलैंचा

नेपालबाट विदेशमा राम्रो माग हुने प्रमुख वस्तुमा गलैंचा पर्छ । १५ वर्षअघिको तुलनामा गलैंचा उद्योग धरासायी भएपनि आजको दिनमा पनि नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा गलैचा आउने गरेको छ । ३ महिनाको अवधिमा नेपालबाट १ अर्ब ९६ करोड रुपैंया बराबरको गलैंचा निर्यात भएको तथ्याङ्कले देखाएको छ । नेपालबाट निर्यात हुने उक्त गलैंचाको प्रमुख बजार भने अमेरिका र यूरोपका केही देशहरु रहेका छन् ।

 

जुट

अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने अर्को नेपाली वस्तु रहेको छ जुट । नेपालले जुट निर्यातबाट पनि वार्षिक ठूलो रकम कमाउने गरेको छ । चालु आवको ३ महिनामा नेपालबाट ७३ करोड ९ लाख रुपैंयाको जुट निर्यात भएको छ । मुख्यगरी अष्ट्रेलिया, क्यानडा, भारत, बंलादेश आदि देशहरुमा जुट निर्यात हुने गरेको छ ।

 

जुत्ता-चप्पल

जुत्ता चप्पलको निर्यात हरेक वर्ष घट्दो क्रममा छ । पछिल्लो ३ महिनाको अवधिमा नेपालबाट कुल १९ करोड रुपैंयाको जुत्ता चप्पल निर्यात भएको छ । मुख्यगरी भारतीय बजारमा नेपाली ब्राण्डको जुत्ता चप्पल निर्यात हुने गरेको पाइन्छ । नेपाली ब्राण्ड गोल्डस्टार जुत्ता भारतीय बजारमा निकै मागमा रहेको व्यवसायीहरु बताउँछन् ।

 

जिआई पाइप

भारतमा नेपालमा बनेको जिआई पाइपको पनि माग उत्तिकै रहेको छ । चालु आवको ३ महिनामा नेपालबाट २२ करोड रुपैंयाको जिआई पाइप निर्यात भएको छ ।

सनराइज बैंकको साधारण सभा सम्पन्न, १५.८०% लाभांश पारित Read Previous

सनराइज बैंकको साधारण सभा सम्पन्न, १५.८०% लाभांश पारित

बैंकबाट कर्जा लिएर पहिलो घर किन्नेलाई धितोको ७० प्रतिशतसम्म कर्जा Read Next

बैंकबाट कर्जा लिएर पहिलो घर किन्नेलाई धितोको ७० प्रतिशतसम्म कर्जा