नापतौलमा ठगी गर्ने ८ हजार व्यापारीलाई कारबाही

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने ७ हजार ९४४ व्यापारीलाई कारबाही गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षको ८ महिना (माघसम्म)मा अनियमितरुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गर्ने झण्डै ८ हजार व्यापारीलाई कारबाही गरेको हो ।

पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको सो कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले जानकारी दिए । उनले भने, ‘अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ ।’

सो कार्यालयले फागुन महिनासम्म २ हजार ७५ व्यापारीलाई नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोेग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरणसमेत गरेको छ । सीमित स्रोत र साधनबीच बजार अनुगमनको कार्यलाई तीव्रता दिएको सो कार्यालयले नापतौलसम्बन्धी उपभोक्ता हक, हित संरक्षणका लागि १२५ पटक एकल अनुगमन र ११६ पटक संयुक्तरुपमा बजार अनुगमन गरेको सूचना अधिकारी पुडासैनीले बताए।

चालु आवको ८ महिनामा सो कार्यालयबाट ५ हजार ८६९ व्यापारीले नापतौल तथा नाप्ने तौलने यन्त्र जाँच गरेका छन् । यस्तै, ४१५ पेट्रोलियम पदार्थ वितरण पम्प जाँच, ७९ भेहिकल टैङ्क जाँच, ५ हजार ७० ट्याक्सीको मिटर जाँच गरेको छ ।

कार्यालयका प्रमुख राकेशकुमार झा जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले नापतौल कार्यालयले कारबाहीलाई प्राथमिकता दिएको बताउँछन् । ‘नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउँछौँ,’ उनले भने।

सो कार्यालयले चालु आवको ८ महिनामा रु १ करोड ३५ लाख ६३ हजार ६७९ राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले हाल काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन र गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ ।

माघसम्म नबिल बैंकले ४ अर्ब कमाउँदा अरूले कति कमाए ? Read Previous

माघसम्म नबिल बैंकले ४ अर्ब कमाउँदा अरूले कति कमाए ?

लाभांश प्रयोजनका लागि थप ३ लघुवित्तले तोके बुकक्लोज, कुनको कहिले ? Read Next

लाभांश प्रयोजनका लागि थप ३ लघुवित्तले तोके बुकक्लोज, कुनको कहिले ?