माघसम्म नबिल बैंकले ४ अर्ब कमाउँदा अरूले कति कमाए ?

काठमाडौं । अर्थतन्त्रमा आएको संकुचनको बाबजूद वाणिज्य बैंकहरूको नाफामा सामान्य बढोत्तरी आएको छ । चालु आर्थिक वर्षको सात महिना (साउन–माघ) मसान्तसम्म वाणिज्य बैंकहरूको खुद नाफा २.०१ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरूले माघ मसान्तसम्म कुल ४१ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । यो गत वर्षको सोही अवधिको तुलनामा ८१ करोड बढी हो । गत वर्ष माघसम्म बैंकहरूले ४० अर्ब २४ करोड खुद नाफा कमाएका थिए ।

बैंकिङ प्रणालीमा भएको तरलता अभाव, कर्जा विस्तार सुस्तका बाबजूद ब्याजदर बढ्दा बैंकहरूको नाफामा झिनो वृद्धि देखिएको हो । पछिल्लो एक वर्षको अवधिमा कर्जाको ब्याजदर झन्डै दोब्बरले बढेको छ । गत वर्ष एकल अंकमा रहेको कर्जाको ब्याजदर अहिले १८ प्रतिशतसम्म पुगेको छ । चालु आवमा धेरै कर्जा लगानी गर्न नसके पनि ब्याजदर बढ्दा बैंकको नाफामा झिनो वृद्धि देखिएको हो । यद्यपि, निक्षेपको ब्याजदर बढेकाले बैंकको लागत पनि बढेको छ ।

माघसम्म नाफामा झिनो वृद्धि देखिए पनि बैंकिङ क्षेत्र संकटोन्नुमख नै रहेको छ । चालु आवको सुरुआती महिनाहरूमा कर्जाको माग भए पनि तरलता अभावका कारणले बैंकहरूले ऋण लगानी गर्न सकेनन् । चालु आवको ८ महिना बित्दा समेत बैंकहरूले लक्ष्यको करिब २० प्रतिशत हाराहारीमा मात्र कर्जा विस्तार गरेका छन् ।

यस्तै, तरलता अभावका बेला बैंकहरूले निक्षेप तान्न ब्याजदर बढाउने होजबाजी चल्यो । निक्षेपको ब्याज बढेसँगै बैंकहरूको लागत समेत ह्वात्तै बढेको छ । अर्थतन्त्रमा आएको संकुचनका कारण ऋणीहरूले नियमित कर्जा तिर्न सकेका छनन् । नियमित ऋण असुल नभएपछि बैंकहरूले ठूलो रकम प्रोभिजन गर्नुपर्ने अवस्था सृजना भएको छ ।

एकातिर कर्जा लगानी नै हुन सकेको छैन भने अर्कोतर्फ लगानी भएको कर्जा पनि नियमित उठ्न छाडेको छ । यसले बैंकहरूलाई ठूलो संकट निम्त्याएको छ । निक्षेप बढाउन ब्याजदर वृद्धि गर्दा एकातिर बैंकको लागत बढ्दै गएको छ भने अर्कोतर्फ लगानी खराब कर्जामा परिणत हुनेक्रम बढ्दो छ । एक वर्षमै बैंकहरूको खराब कर्जा दोब्बरले बढेको छ भने आगामी दिनमा सो रकम अझै वृद्धि हुने प्रक्षेपण गर्न थालिएको छ ।

बैंकको कर्जा ऋणीले समयमै तिर्न नसक्दा संस्थाहरूले कर्जा जोखिम वापतको रकम प्रोभिजनिङ गर्नु पर्ने व्यवस्था छ । सोही अनुसार बैंकहरूको प्रोभिजनिङ रकम बढेको छ भने त्यसको असर खुद नाफामा परेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्था विरूद्वको आन्दोलन विभिन्न रूपमा बढ्दै गएको छ । संस्थाका कर्मचारीमाथि दुव्र्यवहार गर्नेदेखि ऋण नतिर्ने सम्मका गतिविधिले वित्तीय प्रणालीमा चुनौती ल्याएको छ । जसको कारण आगामी दिनमा संस्थाहरूको वित्तीय अवस्था अझै कमजोर हुने अनुमान गर्न थालिएको छ ।

माघसम्म कुन बैंकले कति कमाए ?

समीक्षा अवधिमा २२ वटा वाणिज्य बैंकमध्ये नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । माघसम्म नबिलले ४ अर्ब १३ करोड खुद नाफा कमाएको छ । बैंकिङ लिडर समेत रहेको नबिलले गत वर्ष नेपाल बंगलादेश बैंकलाई गाभेपछि प्राप्त सिनर्जीबाट आफ्नो वर्चश्व कायमै राख्न सफल भएको हो ।

त्यस्तै, समीक्षा अवधिमा एनआइसी एसिया बैंक दोस्रो धेरै नाफा कमाउने बैंक बनेको छ । एनआइसीले ३ अर्ब ६७ करोड खुद नाफा कमाएको ।

त्यसैगरी, ग्लोबल आइएमई बैंकले ३ अर्ब ५५ करोड, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ७० करोड, एनएमबी २ अर्ब २३ करोड, हिमालयन र स्ट्याण्डर्ड चार्टर्डले २ २ अर्ब नाफा कमाएका छन् ।

समीक्षा अवधिमा १४ बैंकको नाफा २ अर्बभन्दा कम रहेको छ । प्राइम कमर्शियल १ अर्ब ९९ करोड, एभरेष्ट १ अर्ब ८८ करोड, नेपाल १ अर्ब ७० करोड, प्रभु १ अर्ब ६६ करोड, सानिमा र कुमारीले समान १ अर्ब ५३ करोड खुद नाफा कमाएका छन् ।

समीक्षा अवधिमा कृषि विकास बैंकको नाफामा सबैभन्दा धेरै गिरावट आएको छ । यस बैंकको नाफा ९३ प्रतिशतले घटेर १० करोड रूपैयाँमा सीमित भएको छ ।

फेवातालमा पुराना डुङ्गाले थपिँदै चुनौती Read Previous

फेवातालमा पुराना डुङ्गाले थपिँदै चुनौती

नापतौलमा ठगी गर्ने ८ हजार व्यापारीलाई कारबाही Read Next

नापतौलमा ठगी गर्ने ८ हजार व्यापारीलाई कारबाही