मुस्ताङको फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी अब अनलाइनबाट घरघरमै

गलेश्वर । फापरको झिलिङ्गा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अर्गानिक जुस मुस्ताङका मौलिक उत्पादन हुन् । प्रचारप्रसारको अभावमा जिल्लाभित्रै सीमित रहेका यी रैथाने उत्पादनले अब भने बाहिरी बजारमा आफ्नो स्वादलाई चखाउन पाउने भएका छन् ।

यहाँ पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले जिल्लाका महिला उद्यमीलाई चारदिने ‘डिजिटल मार्केटिङ’सम्बन्धी तालिम प्रदान गरेपछि आफ्नो उत्पादनलाई बाहिरी बजारमा पठाउने तयारी सुरु भएको छ ।

जिल्लामै खपत हुने फापरको झिलिङ्गा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको जुसलगायत हिमाली रैथाने उत्पादनको माग काठमाडौँ र पोखरामा उच्च छ ।

व्यापारिक ज्ञानको अभावमा जिल्लाभित्र नै सीमित रहेका यी उत्पादन अब ‘डिजिटल मार्केटिङ’ का माध्यमबाट जुनसुकै ठाउँमा पनि पुर्याउन सकिने तालिमका प्रशिक्षक आँखीझ्याल टेक्नोलोजिका इञ्जिनियर उज्ज्वल पौडेलले जानकारी दिए । जिल्लामा उत्पादन हुने वस्तुबारे अनलाइनका माध्यमबाट थाहा हुने र सिधा सम्पर्कबाट खरिद गर्न पाउने उनले बताए ।

अनलाइन, इमेल, इन्टरनेट, सामाजिक सञ्जालका माध्यमबाट पर्यटन प्रवद्र्धन र उत्पादनको बजारीकरणको उपायबारे जान्न पाउँदा यहाँका महिला उद्यमी उत्साहित भएका छन् ।

तालिममा अनलाइनका माध्यमबाट पर्यटन प्रवद्र्धन र उत्पादनको बजारीकरणमा कसरी काम गर्न सकिन्छ भन्नेबारेमा उद्यमीलाई सिकाइएको थियो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र घरपझोङ गाउँपालिकाको सहयोगमा टेवानले तालिम दिएको हो ।

तालिममा मुस्ताङ र पोखराका पर्यटन व्यवसायीबीच भएको अन्तरक्रियामा पर्यटकीय साझेदारीको आवश्यकतामा जोड दिइएको थियो । मुस्ताङका होटल व्यवसायी पनि उक्त तालिमबाट लाभान्वित भएका स्थानीय शोभित शेरचनले बताए ।रासस

ई-सेवाबाट बैंक खातामा पैसा पठाउँदा हङकङ घुम्न जान पाइने Read Previous

ई-सेवाबाट बैंक खातामा पैसा पठाउँदा हङकङ घुम्न जान पाइने

काठमाडौं महानगरले उठायो ८ महिनामा साढे ४ अर्ब राजस्व Read Next

काठमाडौं महानगरले उठायो ८ महिनामा साढे ४ अर्ब राजस्व