लघुवित्तबारे फैलिएको भ्रम चिर्न वित्तीय साक्षरता अभियान सञ्चालन

काठमाडौं । लघुवित्त वित्तीय संस्थाविरुद्ध विभिन्न भ्रम फैलाइएको भन्दै नागरिकलाई यसबारे बुझाउन राष्ट्रव्यापीरुपमा वित्तीय साक्षरता अभियान सञ्चालन गरिएको छ ।

विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं लघुवित्त बैंकर्स सङ्घका पूर्वअध्यक्ष वसन्तराज लम्सालले लघुवित्त विरुद्ध फैलिएको हल्ला निराधार भएकाले नागरिकलाई यथार्थ बुझाउन अभियान सुरु गरिएको बताए।

कोरोनापछिको आर्थिक मन्दीले ऋण तिर्न गाह्रो हुँदा भ्रम फैलाइएको उल्लेख गर्दै उनले सङ्घ र सेवाग्राही जिम्मेवार नबनेको स्थानमा मात्र समस्या उत्पन्न भएको उल्लेख गरे ।

लघुवित्तले नियमविपरीत कार्य गरे राष्ट्र बैंकले नियमन गर्ने बताउँदै अफवाहको पछि नलाग्न उनले आग्रह पनि गरे । लघुवित्त वित्तीय संस्थाले बढी ब्याज लिएको भनेर गलत प्रचार गरिएकाले अहिले लघुवित्तले वर्षिकरुपमा बढीमा १५ प्रतिशत ब्याजदर र १.५ प्रतिशत सेवा शुल्कमात्रै लिएको पूर्वअध्यक्ष लम्सालले जिकिर गरे।

‘हामीलाई राष्ट्र बैंकले नियमन र निर्देशन गर्दै आएको छ,’ उनले भने, ‘लघुवित्तले वार्षिकरूपमा १५ प्रतिशत ब्याजदर र १.५ प्रतिशत प्रतिशत सेवा शुल्क लिन पाउँछ । त्योभन्दा बढी ब्याजदर र सेवा शुल्क लिएको भए हामीलाई खबर गर्नु त्यस्ता संस्थाविरुद्ध कारबाही प्रक्रियामा हामी नै  जान्छौँ ।’

लघुवित्तले ऋणीलाई ऋण दिने बेलामा बीमा कम्पनीसँगको सहकार्यमा बीमा गरिदिने र त्यसबारे ऋणीलाई जानकारी हुने पूर्वअध्यक्ष लम्सालको भनाइ थियो । ‘हामीले समुदायमा ऋण प्रवाह गरेका हुन्छौँ, बिनाधितो ऋण दिन्छौँ, कुनै भवितव्य परे ऋणीको परिवारलाई राहत हुन्छ भनेर हामीले बीमा गर्ने गरेका हौँ’ उनले भने, ‘बीमा गर्दाको शुल्कबारे ऋणीहरूलाई हामीले बुझाउने गरेका छौँ ।’ अहिलेको अवस्थामा अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्तले लिने ऋणको व्याज कम रहेको जनाउँदै उनले सदस्यलाई घरमै पुगेर सेवा प्रदान गर्नुपर्दा वार्षिकरुपमा १५ प्रतिशत ब्याजदर लिनुपरेको बताए ।

लघुवित्त वित्तीय संस्थाकै कारण ग्रामीण क्षेत्रका महिलालाई उद्यमी बनाउन सफल भएको,  सङ्घको सञ्जाल विस्तार गरी गाउँठाउँमै गुनासो सुन्नेर  समाधान गर्ने व्यवस्था मिलाउन लागिएको, यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि  नेपाल राष्ट्र बैंकले अध्ययन गरी समाधान गर्न  समिति गठन गरिसकेकोले त्यहाँ छलफल हुने पूर्वअध्यक्ष लम्सालले  जानकारी गराए ।

लघुवित्त वित्तीय संस्थाले देशका ७७ वटै जिल्लामा रहेका स्थानीय तहमा शाखा कार्यालय खोली ६४ वटा लघुवित्त वित्तीय संस्थामार्फत घरदैलोमै वित्तीय सेवा पुर्याउँदै आएका छन् । साठी लाख घरधुरीले १३ लाख समूहमार्फत काम गर्दै आएको सङ्घले जनाएको छ ।

महिलालाई वित्तीय साक्षरता, महिला सशक्तीकरण र स्वरोजगार बनाउन ३० वर्षदेखि लघुवित्तको ठूलो योगदान रहेको बताइएको छ । सङ्घले देशका ७७ वटै जिल्लामा वित्तीय साक्षरता प्रदान गर्न राष्ट्रिय अभियान सुरुआत गरेको छ ।

लगातार पाँचौं महिना बढ्यो डलर संचिति, माघमा ढुकुटीमा थपियो २० करोड डलर Read Previous

लगातार पाँचौं महिना बढ्यो डलर संचिति, माघमा ढुकुटीमा थपियो २० करोड डलर

अर्थतन्त्रमा बाह्य दबाब कम हुँदै : अधिकांश सूचकमा सुधार, मूल्य वृद्धि भने नियन्त्रण बाहिर Read Next

अर्थतन्त्रमा बाह्य दबाब कम हुँदै : अधिकांश सूचकमा सुधार, मूल्य वृद्धि भने नियन्त्रण बाहिर