अर्थतन्त्रमा बाह्य दबाब कम हुँदै : अधिकांश सूचकमा सुधार, मूल्य वृद्धि भने नियन्त्रण बाहिर

काठमाडौं । देशको अर्थतन्त्रमा आन्तरिक दबाब कायमै रहे पनि बाह्य दबाब भने क्रमशः घट्दै गएको छ । मागमा संकुचन, ब्याजदर वृद्धि, बढ्दो बेरोजगारी, मूल्य वृद्धि लगायत कारणले अर्थतन्त्रको आन्तरिक क्षेत्र दबाबमा रहे पनि बाह्य क्षेत्रमा भने केही महिनादेखि लगातार सुधार आएको हो ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना (माघ)सम्मको तथ्यांक अनुसार अर्थतन्त्रका बाह्य सूचकमा दबाब कम हुँदै गएको देखाएको हो ।

बाह्य क्षेत्रको दबाब बढ्दै जाँदा सरकारले गत वर्ष आयातमा प्रतिबन्ध लगाएको थियो भने सर्वसाधरणमा समेत देशको अर्थतन्त्र श्रीलंकाको जस्तै हुन्छ कि भन्ने त्रास थियो ।

आयातमा सरकार र नेपाल राष्ट्र बैंकको कडाइ, पर्यटन क्षेत्रमा आएको सुधार, रेमिट्यान्स वृद्धि लगायत कारणले बाह्य क्षेत्रमा सुधार आएको हो ।

राष्ट्र बैंकका अनुसार विदेशी मद्राको संचिति बढ्दै गएको छ भने व्यापार घाटा पनि केही घटेको छ । त्यस्तै, चालु खाता, शोधान्तरस्थिति लगायतमा पनि सुधार आएको छ ।

बाह्य क्षेत्रका अधिकांश सूचकमा सुधार आए पनि मूल्य वृद्धि भने सरकारको नियन्त्रण बाहिर रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तो छ अर्थतन्त्रका बाह्य क्षेत्रका मुख्य सूचकहरुको अवस्था

२७ प्रतिशतले बढ्यो रेमिट्यान्स

गत आवको देखि ओरालो लागेको रेमिट्यान्स आप्रवाह पछिल्लो समय बढ्दै गएको छ । चालु वर्षको दोस्रो त्रैमासदेखि माघ मसान्तसम्म रेमिट्यान्स आप्रवाहमा लगातार वृद्धि भएको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले वृद्धि भई ६८९ अर्ब ८८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजार ७६७ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०।१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो ।

चालु खाता र शोधान्तरमा सुधार

चालु आवको सात महिनामा चालु खाता एवम् शोधनान्तर स्थितिमा सुधार आएको छ । समीक्षा अवधिमा चालु खाता २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४११ अर्ब ३४ करोडले घाटामा रहेको थियो ।
यस अवधिमा शोधनान्तर स्थिति १३३ अर्ब २१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४७ अर्ब ३ करोडले घाटामा रहेको थियो ।

विदेशी मुद्रा संचित १४ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा विदेशी मुद्रा संचितिमा ठूलो सूधार आएको छ । चालु आवको ७ महिनामा झन्डै १ अर्ब डलर ढुकुटीमा थपिएको छ । गत असार मसान्त्सम्म ९ अर्ब ५४ करोड रहेको डलर संचिति माघ मसान्त आइपुग्दा १० अर्ब ५० करोड पुगेको छ ।

गत असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले वृद्धि भई भएर माघ मसान्तमा १३८३ अर्ब ३३ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार यस्तो संचितिले १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ ।

सरकारले विदेशी विनिमय संचिति घट्दै गएपछि गत वर्षदेखि लगाएको आयात प्रतिबन्ध ११ महिनापछि हटाएको थियो । पछिल्लो समय भने डलर संचतिमा सुधार हुँदै गएको तथ्यांकले देखाउँछ ।

व्यापार घाटा १९ प्रतिशतले कम

समीक्षा अवधिमा आयात र निर्यात दुवै घट्दा मुलुकको व्यापार घाटा १८.७ प्रतिशतले घटेको छ । माघ मसान्तसम्म व्यापार घाटा रु.८२५ अर्ब ७३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३८.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.५ प्रतिशत रहेको थियो ।

माघसम्म कुल वस्तु आयात १९.९ प्रतिशतले कमी आई रु.९१९ अर्ब १७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२.८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १८.० प्रतिशत, २४.३ प्रतिशत र २२.० प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

त्यस्तै, निर्यात पनि २९.० प्रतिशतले घटेर रु.९३ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात
८८.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७.७ प्रतिशत र १३.४ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ८.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलंैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

मुद्रास्फीति नियन्त्रण बाहिर

राष्ट्र बैंकले चालु वर्षमा ७ प्रतिशतको सीमा भित्र मूल्यवृद्धि राख्र्ने लक्ष्य लिए पनि अझै पूरा हुन सकेको छैन । अन्तर्राष्ट्रिय स्तरमा भइरहेको इन्धनको मूल्यवृद्धि, ब्याजदर वृद्धि लगायतका कारणले लागत बढ्दा वस्तुको मूल्य झनै महंगिएको छ ।

चालु आवको माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैर– खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशत र मरमसलाको ८.०४ प्रतिशतले बढेको छ ।

 

लघुवित्तबारे फैलिएको भ्रम चिर्न वित्तीय साक्षरता अभियान सञ्चालन Read Previous

लघुवित्तबारे फैलिएको भ्रम चिर्न वित्तीय साक्षरता अभियान सञ्चालन

नेप्से फेरि २ हजार बिन्दु तल झर्‍यो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Next

नेप्से फेरि २ हजार बिन्दु तल झर्‍यो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी