लगातार पाँचौं महिना बढ्यो डलर संचिति, माघमा ढुकुटीमा थपियो २० करोड डलर

काठमाडौं । अमेरिकी डलर संचितिमा लगातार सुधार आएको छ । सरकारले पुसदेखि आयात खुलाए पनि त्यसका बाबजूद डलर संचितिमा लगातार सुधार आएको हो ।

चालु आर्थिक वर्ष सुरु भए यता लगातार ओरालो लागेको डलर संचिति असोजदेखि भने लगातार बढ्दो क्रममा रहेको हो । रेमिट्यान्स आप्रवाहमा वृद्धि, पर्यटकको आवगमन बढ्नु र विदेशी वस्तुको आयात घट्दा डलर संचितिमा सुधार आएको हो ।

पछिल्लो एक महिनाको अवधिमा राष्ट्रिय ढुकुटीबाट २० करोड डलर थपिएको । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको सातौं महिना (माघ)को तथ्यांक अनुसार पुसको तुलनामा माघमा डलर संचिति २० करोडले बढेको हो ।

डलर संचितिमा सुधार आएको यो लगातार पाँचौ महिना हो । राष्ट्रिय ढुकुटीमा असोजमा १३ करोड, कात्तिकमा १५ करोड, मंसिरमा १९ करोड र पुसमा ४८ करोड डलर थपिएको थियो ।

पुस मसान्तसम्म कुल डलर संचिति १० अर्ब ३० करोड रहेकोमा माघ मसान्त आइपुग्दा २० करोडले बढेर १० अर्ब ५० करोड पुगेको छ । २०७९ असार मसान्तसम्म राष्ट्रिय ढुकुटीमा ९ अर्ब ५४ करोड डलर संचिति थियो ।

यस्तै, समग्र विदेशी मुद्रा संचितिमा पनि सुधार आएको छ । २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले वृद्धि भई २०७९ माघ मसान्तमा रु.१३८३ अर्ब ३३ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ माघ मसान्तमा १६.२ प्रतिशतले वृद्धि भई रु.१२२८ अर्ब ५ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ माघ मसान्तमा २.६ प्रतिशतले कमी आई रु.१५५ अर्ब २८ करोड कायम भएको छ । २०७९ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.४ प्रतिशत रहेको छ ।

स्तरोन्नतिपछि पनि डब्ल्यूटीओबाट सुविधा पाउन नेपालले पहल गर्ने Read Previous

स्तरोन्नतिपछि पनि डब्ल्यूटीओबाट सुविधा पाउन नेपालले पहल गर्ने

लघुवित्तबारे फैलिएको भ्रम चिर्न वित्तीय साक्षरता अभियान सञ्चालन Read Next

लघुवित्तबारे फैलिएको भ्रम चिर्न वित्तीय साक्षरता अभियान सञ्चालन