काठमाडौं । जजीरा एयरवेजले फागुन २५ गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने भएको छ । पुसदेखि भैरहवामा उडान रोकेको जजीराले फागनु २५ देखि पुनः नियमति उडान गर्ने घोषणा गरेको हो ।
जजीराले भैरहवाबाट कुवेत रुटमा साताको तीन उडान गर्ने भएको हो । हरेक मंगलबार, बिहीबार र शनिबार भैरहवाबाट कुवेत जाने र सोमबार, बुधबार र शुक्रबार कुवेतबाट भैरहवा आउने तालिका रहेको छ ।
भैरहवाबाट बिहान ८ः०५ बजे उडको हजाज कुवेतको समय अनुसार बिहान १० बजे अवतरण गर्नेछ । जजीराले भैरहवादेखि कुवेतसम्म एकतर्फी भाडादर २८ हजार ८३६ रुपैयाँ तोकेको छ ।
नेपालस्थित जजीरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस्का अध्यक्ष रवीचन्द्र सिंहले नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजीरा एयरवेजको प्रतिबद्धता अनुसार नै नियमित उडान गर्न लागेको बताए ।
‘नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजीरा एयरवेजको प्रतिबद्धता अनुसार नै हामीले मध्य पूर्वमा बसोबास गर्ने विशेष गरी भारतीय नागरिकहरुका बीचमा लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थल साथसाथै आध्यात्मिक गन्तव्यको रुपमा प्रबद्र्धन गर्दैछौं । यस प्रबद्धनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकतम आगमन सुनिश्चित गर्नुका साथै सम्पूर्ण पश्चिम भेगको पर्यटकीय परिस्थितिमा र राष्ट्रको समग्र आर्थिक वृद्धिमा सहयोग पुर्याउँछ भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।