काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले होटल तथा रेष्टुरेन्ट क्षेत्रका कर्जा लगानी उल्लेख्य बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो साढे चार वर्षको अवधिमा दोब्बर बढीले कर्जा लगानी बढाएका हुन् ।
आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्थाको होटल व्यवसायमा ९१ अर्ब रुपैयाँ लगानी रहेकोमा चालु आवको पुस आइपुग्दा मसान्तसम्म २ खर्ब ६ अर्ब पुगेको छ । यस अवधिमा ठूला तथा चेन होटलका पूर्वाधार संरचनाहरू बन्ने क्रम बढ्दो छ ।
एकपटक लगानी गरेपछि वर्षौंसम्म निरन्तर आम्दानी गर्न सकिने, कोरोना कम भएपछि विदेशी पर्यटक आउने क्रम बढ्दै जानु, घुमफिर गर्ने संस्कृति फस्टाउँदै गएपछि आन्तरिक पर्यटक बढ्नु लगायत कारणले व्यवसायीहरूले होटलमा लगानी बढाएका हुन् ।
बैंक तथा वित्तीय संस्थाहरूले हालसम्म ४८ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । संस्थाहरूले यस अवधिमा लगानी गरेको कुल कर्जाको होटल क्षेत्रको हिस्सा ४.२५ प्रतिशत रहेको छ ।
गत वर्षदेखि कोभिडले सिथिल बनेको पर्यटन तथा होटल व्यवसाय पुनरुत्थान भइरहेको छ । त्यसक्रममा निर्माण कार्य रोकिएकाहरू पनि पुनः बन्न थालेका छन् । पर्यटन विभागका अनुसार पछिल्ला दुई वर्षमा तीन दर्जनबढी स्टार होटल र क्यासिनोहरूले निर्माण तथा सञ्चालनको अनुमति लिएका छन् ।
लगानीको जोखिम न्यून र निरन्तर प्रतिफल प्राप्त हुने भएकाले होटल व्यवसायमा बैंक तथा वित्तीय संस्थाहरूको सहजै कर्जा उपलब्ध गराउने गरेका छन् । राष्ट्र बैंकले कर्जा विविधीकरणको लगानी क्षेत्र तोकेको छ । जसअनुसार बैंकहरूले लगानी गर्दै आएका छन् ।
उत्पादनका क्षेत्रहरूमा लगानी बढाउने राष्ट्र बैंकको नीति भए पनि वस्तु आयात र उपभोगमै ठूलो हिस्सा जाने गरेको छ । जसको कारण लगानीका सम्भावित क्षेत्रहरूमै व्यवसायीले ऋण पाउन समेत नसक्ने अवस्था आउने गरेको छ । बैंक तथा वित्तीय संस्थाको लागि कर्जा लगानीका क्षेत्रहरू मध्ये कृषि, पर्यटन, होटल तथा रेष्टुरेन्ट अब प्राथमिकतामा रहेको बैंकरहरू बताउँछन् ।
पूर्व बैंकर परशुराम कुँवर क्षेत्रीले बैंक तथा वित्तीय संस्थासँग कर्जा लगानी गर्न स्रोत भए पनि माग नहुँदा सामान्य क्षेत्रमा लगानी गरिरहेको बताए ।
‘अहिले महंगो ब्याजले कर्जाको डिमान्ड नहुँदा बैंकहरूले सामान्य क्षेत्रमा मात्रै लगानी गरिरहेका छन्,’ उनले भने, ‘विशेषगरी, कृषि, होटल तथा पर्यटन, उत्पादन, सेवा र व्यापार लगायतमा ऋण दिइरहेको देखिन्छ ।’
वित्तीय संस्थाहरूले माग संकुचनका कारण चालु वर्षमा कर्जा विस्तार बढाउन सकेका छैनन् । जसको कारण आर्थिक वृद्धि र उत्पादनका क्षेत्रमा हुने लगानी समेत प्रभावित हुने देखिएको छ ।
कुन बैंकको कति लगानी ?
चालु आवको पुस मसान्तसम्म होटल तथा रेष्टुरेन्टमा वाणिज्य बैंकको लगानी १ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । आव २०७४/७५ सम्म ९८ अर्ब ५ करोड रहेकोमा यस अवधिमा दोब्बरभन्दा बढीले बढेको देखिन्छ । हाेटलमा सबैभन्दा धेरै लगानी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २२ अर्ब ६ करोड रुपैयाँ लगानी रहेको छ ।
त्यसैगरी, प्रभु बैंकको २० अर्ब, ग्लोबल आइएमई बैंकको १७ अर्ब, कुमारी र प्राइम कमर्सियल बैंकले १३/१३ अर्ब रुपैयाँ कर्जा होटल तथा पर्यटन क्षेत्रमा लगानी गरेका छन् ।
त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक ११ अर्ब, हिमालयन १०, नबिल ९, नेपाल बैंक ७, सिद्धार्थ र एसबीआई बैंकले ६/६ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह गरेको देखिन्छ । सबैभन्दा कम विदेशी कम्पनीको स्ट्र्यान्डार्ड चार्टर्डले १ अर्ब कर्जा लगानी गरेको छ भने सिटिजन बैंकको २ अर्ब, एनएमबी ५, सनराइज र एभरेष्टको ३/३ अर्ब, एनआइसी, कृषि विकास, सानिमा र माछापुच्छ्रे बैंकले ४/४ अर्ब बढी रुपैयाँ लगानी गरेका छन् ।