६ महिनामै दोब्बर भएको बैंकको खराब कर्जा आगामी दिनमा झनै बढ्ने

काठमाडौं । पछिल्लो ६ महिनाको अवधिमै दोब्बर भएको बैंकहरूको खराब कर्जा आगामी दिनमा झनै बढ्ने एक अध्ययनले देखाएको छ ।

क्रेडिट रेटिङ एजेन्सी कम्पनी इक्रा नेपालले सार्वजनिक गरेको ‘नेप्लिज बैंकिङ सेक्टर : पर्फमेन्स अपडेट एण्ड आउटलुक’ प्रतिवेदनले यस्तो देखाएको हो ।

इक्राले सन् २०२३ को जनवरी महिनासम्मको तथ्यांकलाई आधार मानेर समग्र बैंकिङ क्षेत्रको अध्ययन गरेको छ । इक्राका अनुसार सन् २०२२ जुलाइमा १.३१ प्रतिशत रहेको बैंकहरूको खराब कर्जा ६ महिना अर्थात् सन् २०२३ को जनवरी आइपुग्दा दोब्बरले बढेर २.६३ प्रतिशत पुगेको छ ।

तरलता अभावका कारण बैंकको ऋण दिने क्षमतामा आएको कमी, कर्जाको ब्याजदरमा भएको वृद्धि, ऋणीको ऋण तिर्न सक्ने क्षमतामा आएको ह्रास लगायत कारणले बैंकको खराब कर्जा बढेको प्रतिवेदनमा उल्लेख छ ।

ऋणीको ऋण तिर्न सक्ने क्षमतामा आएको गिरावटका कारण आगामी दिनमा बैंकहरूको खराब कर्जा झनै बढ्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

कोभिडकालपछि नेपाल राष्ट्र बैंकले तरलता बढाउन र ऋण तिर्नका लागि पुर्नकर्जा, ऋणको पुनर्संरचना लगायत सुविधा दिएको थियो । गत पुसदेखि राष्ट्र बैंकले ती सुविधा कटौती गरेको छ । जसकारण अहिले ऋणीहरू अप्ठेरोमा पर्न थालेका छन् । ऋणीले समयमै ऋण तिर्न नसक्ने भएपछि बैंकहरूको खराब कर्जा आगामी दिनमा झनै बढ्ने देखिन्छ ।

पछिल्लो समय राष्ट्र बैंकले नियमनमा कडाइ गरे पनि बैंक बैंकहरूकै कमजोरीका कारण ऋणको गुणस्तर खस्किँदै गएको छ ।
यस्तै, बैंकहरूले एउटै व्यापारिक घराना, समूह र व्यक्तिलाई धेरै ऋण दिँदा समग्र बैंकिङ प्रणाली नै दबाबमा रहेको प्रतिवेदनले औंल्याएको छ ।

 

नियम उल्लंघन गर्ने विरुद्ध आक्रमक बन्दै ट्राफिक, एकैदिन ३ हजार १४८ चालक कारबाहीमा Read Previous

नियम उल्लंघन गर्ने विरुद्ध आक्रमक बन्दै ट्राफिक, एकैदिन ३ हजार १४८ चालक कारबाहीमा

सेयर बजारमा झिनो गिरावट, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

सेयर बजारमा झिनो गिरावट, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी