वर्तमान आर्थिक अवस्थाका विषयमा सिबीफीन र आइएमएफ बीच छलफल

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट नेपालमा आएको मिसन टोलीका प्रमुख जार्को टुरुनेनको टोलीसँग बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबीफीन) ले भेटवार्ता गरेको छ ।

बुधबार नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा दुई पक्ष बीच सघन छलफल भएको हो । छलफलमा आइएमएफ नेपालका आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेज, आइएमएफ– वाशिङटन डि.सी, अमेरिकाका वरिष्ठ अर्थशास्त्री रसेल ग्रीन र सिबीफीनको तर्फबाट उपाध्यक्ष राजेश उपाध्यक्ष, महासचिव राजन सिंह भण्डारी, कार्यकारिणी सदस्य राधेश पन्त तथा सिबीफीनका महानिर्देशक डा. गोपालप्रसाद तिवारीको सहभागिता रहेको थियो ।

नेपालको भ्रमणमा रहेको उक्त मिसनका प्रमुख जार्को टुरुनेनले नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाको समीक्षा र कोभिड–पछिको परिदृश्यहरुका विषयमा सरोकारवालाहरूसँग परामर्श गर्न नेपालमा आएको बताए ।

सिबीफीनका प्रतिनिधिले आयात, तरलताको समस्या र त्यसको असर, बैंक तथा वित्तीय संस्थाको मुनाफामा देखिएको संकुचन, पूँजीबजारमा आएको गिरावट, संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गर्न सकिने बाफियाको व्यवस्थाको कार्यान्वयनको अवस्था, निष्क्रिय कर्जामा भइरहेको वृद्धि, ब्याजदर, कर्जायोग्य पुँजीको अभावलगायतका विविध विषयमा आइएमएफका प्रतिनिधिसमक्ष जानकारी प्रस्तुत गरेका थिए ।

आइएमएफबाट आएको मिसन टोलीका प्रतिनिधिहरुले नेपालको हालको आर्थिक कठिनाइहरूको बारेमा अध्ययन गरी प्रतिवेदन तयार गर्ने जानकारी गराए ।
सिबीफीनको कार्यालय, सुन्धारामा सम्पन्न उक्त भेटघाट तथा छलफल अर्थपूर्ण भएको र आगामी दिनमा समेत आइएमएफले आर्थिक तथा बैंकिङ क्षेत्रका विविध विषयहरुमा सिबीफीनसँग गरिरहेको छलफल र सहकार्यलाई जारी राख्ने सन्देश उनले व्यक्त गरे ।

सेयर बजारमा भीषण पहिरो, यी ४४ लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट Read Previous

सेयर बजारमा भीषण पहिरो, यी ४४ लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट

एक महिनामै सरकारी ढुकुटीमा कसरी थपियो ४८ करोड डलर ? यस्ता छन् ३ कारण Read Next

एक महिनामै सरकारी ढुकुटीमा कसरी थपियो ४८ करोड डलर ? यस्ता छन् ३ कारण