काठमाडौं । गत वर्षदेखि ओरालो लागेको अमेरिकी डलर संचितिमा पछिल्ला केही महिना यता लगातार सुधार आएको छ ।
गत वर्षको भदौदेखि ओरालो लागेको डलर संचिति चालु आवको असोजदेखि भने लगातार बढ्दो क्रममा रहेको हो । नेपाल राष्ट्र बैंक तथ्यांक अनुसार चालु आवको ६ महिनामा राष्ट्रिय ढुकुटीमा ७६ करोड डलर थपिएको छ । जसमा पुस एक महिनामा मात्रै ४८ करोड डलर थपिएको छ ।
२०७९ असार मसान्तसम्म राष्ट्रिय ढुकुटीमा ९ अर्ब ५४ करोड डलर संचिति रहेकोमा पुस मसान्त आइपुग्दा ७६ करोडले बढेर १० अर्ब ३० करोड पुगेको छ ।
चालु आवको असोजदेखि डलर संचितिमा लगातार सुधार आएको छ । राष्ट्र बैंकका अनुसार असोजमा १३ करोड, कात्तिकमा १५ करोड र मंसिरमा १९ करोड डलर थपिएको छ ।
एक वर्षअघि ६ महिनाको आयात धान्न पुग्ने संचिति कायम रहेकोमा अहिले बढेर ९ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने डलर संचिति रहेको राष्ट्र बैंकले जनाएको छ । डलर संचिति घट्दै गएपछि सरकारले गत वैशाखदेखि पुससम्म विभिन्न १० समूहका वस्तु आयातमै प्रतिबन्ध लगाएको थियो ।
एकाएक कसरी ह्वात्तै बढ्यो डलर संचिति ?
चालु आवको सुरुदेखि नै डलर संचिति घट्न थालेको थियो भने असोजदेखि मात्र सुधार आएको हो । डलर संचिति बढ्नुमा रेमिट्यान्समा उल्लेख्य वृद्धि, विदेशी पर्यटक बढ्नु, बजारमा वस्तुको माग नहुँदा आयात घट्नु लगायत कारण रहेको जानकारहरू बताउँछन् ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट विनिमय संचितिमा आएको सुधारले बाह्य क्षेत्रको दबाब कम हुँदै गएको बताउँछन् ।
‘पर्यटकीय गतिविधि बढेको छ भने रेमिट्यान्स आप्रवाह वृद्धि भएको छ । विदेशी मुद्रा आर्जनका यी सूचकहरू सकारात्मक बन्दा बाह्य दबाव कम हुन्छ,’ उनले भने ।
कोभिडले सिथिल अर्थतन्त्र पुनरुत्थानको क्रममा भएको अनियन्त्रित आयात, रेमिट्यान्स आप्रवाह र पर्यटन व्यवसायमा आएको गिरावटले गत वर्ष डलर संचितिको चर्को दबाव थियो ।
सोही कारण सरकारले गत पुससम्म सवारी साधन लगायतका वस्तुहरूको आयात प्रतिबन्ध लगाएको थियो भने राष्ट्र बैंकले नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । बाह्य दबाव कम हुँदै गएपछि विनिमय संचिति कायम राख्ने यी नीतिगत व्यवस्था हटिसकेका छन् ।
रुस युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा इन्धन संकटले मूल्यवृद्धि र डलरको भाउ आकाशिँदै पछिल्लो दशककै उच्च विन्दुमा पुगेको थियो । पछिल्लो समय यी सूचकहरूमा केही सुधार भए पनि फेरि बढ्न सक्ने चुनौती भने कायमै रहेको छ ।
प्रणालीमा रकम रहे अर्थतन्त्र चलायमान नहुने र गतिविधि बढे भुक्तानी सन्तुलन र विनिमय सचिति जस्तो बाह्य दबावको सामना गर्नुपर्ने अर्थतन्त्रको संरचना छ ।
रेमिट्यान्स वृद्धि
चालु वर्षमा भने गत कात्तिकदेखि रेमिट्यान्स आप्रवाहमा सुधार हुँदै गएको छ । पुस मसान्तमा २४.३ प्रतिशतले वृद्धि भएर ५ खर्ब ८५ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम ५.० प्रतिशतले घटेको थियो ।
अर्थतन्त्रको लागि विदेशी मुद्रा आर्जनका स्रोतहरू मध्ये रेमिट्यान्स महत्वपूर्ण भएको छ । रेमिट्यान्स आप्रवाह घट्न सुरु भए अर्थतन्त्रमा संकूचन र बाह्य क्षेत्रको दबाव आउने गरेको छ ।
जब रेमिट्यान्स वृद्धि हुन्छ त्यसपछि मात्र अर्थतन्त्रका सूचकहरू ठीक अवस्थामा देखिने गरेको तथ्यहरूले देखाउँछ । जीडीपीको २२ प्रतिशत योगदान रहेको रेमिट्यान्स आप्रवाह घट्दा गत वर्ष विदेशी संचिति र भुक्तानी सन्तुलन कायम गर्न राष्ट्र बैंकलाई सकस परेको थियो ।
पर्यटन व्यवसायमा सुधार
कोभिडले सबैभन्दा प्रभावित व्यवसाय मध्येको पर्यटन एक हो । सन् २०२० पछि दुई वर्ष करिब विदेशी पर्यटनको आवागमन सून्य प्राय रह्यो । जसको कारण वार्षिक रुपमा अर्बौै डलर आर्जनको घटेपछि त्यसको असर विदेशी विनिमय संचितिमा देखियो ।
यस वर्ष भने सुरुआतदेखि नै पर्यटक आवागमनको संख्या बढ्दै गएको छ । योसँगै पर्यटकको खर्च र उनीहरूले नेपाल बस्ने समय पनि बढेको पर्यटन विभागको तथ्यांकले देखाउँछ ।
पर्यटन बोर्डका अनुसार सन् २०२३ को पहिलो महिना (जनवरी)मा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२२ को तुलनामा तेब्बर बढी हो । २०२२ को जनवरीमा १६ हजार ९७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । पर्यटन व्यवसायमा सुधार आएसँगै विदेशी मुद्रा आर्जनमा पनि सकारात्मक संकेत देखिएको छ ।
आयातमा संकूचन
सबैभन्दा ठूलो विदेशी मुद्रा बाहिरीने भनेको वस्तु आयातमा हो । वार्षिक बजेटको आकार भन्दा ठूलो व्यापार घाटाले आर्जन गरेको सबै रकम उपभोगमै जाने गरेको छ । अनियन्त्रित आयातले मुद्रा संचितिमा दबाब परेको भन्दै गत वर्ष राष्ट्र बैंक र सरकारले आयातमा कडाइको नीति हटाइ सकेको छ ।
नीतिगत कडाइ हटाइए पनि माग संकूचनले आयात बढेको छैन । जसको कारण डलर संचितिमाथि दबाव परेको देखिँदैन । चालु वर्षको सुरुदेखि नै नेपालको वस्तु आयात घट्दै गएको भन्सार विभागको तथ्यांक छ ।
यस अवधिमा १९.९० प्रतिशतले आयात घटेको छ । विभागका अनुसार यस अवधिमा ९ खर्ब १९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा ११ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको सामान आयात गरिएको थियो ।
यस वर्षको सात महिनामा नेपालको व्यापार घाटा ८ खर्ब २५ अर्ब पुगेको छ । विभागका अनुसार गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा १८.७१ प्रतिशतले व्यापार घाटा घटेको हो ।