काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । १३५ अंकको गिरावटपछि बुधबार ३३ अंकले बढेको नेप्से आज फेरि उच्च अंकले घटेको हो ।
राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै सत्ता समीकरण बदलिने संकेत देखिएको छ । यसले राजनीतिक अस्थिरता छाउने सम्भावना देखिएपछि लगानीकर्ता हतोत्साहित हुँदा नेप्सेमा भीषण पहिरो गएको हो ।
यस्तै, बुधबार एकीककृत निर्देशन संशोधन गर्दै नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई कर्जा लगानी र लाभांश वितरणमा कडाइ गरेपछि बजारमा गिरावट आएको हो । आज सूचीकृत सबै माइक्रोफाइनानस कम्पनीहरुको सेयर मूल्यमा उच्च गिरावट आएको छ ।
सूचकमा भारी गिरावट आए पनि कारोबार रककमा भने सुधार आएको छ अघिल्लो दिनको तुलनामा कारोबार रकम ७२ करोडले बढेर साढे २ अर्ब नाघेको छ ।
बिहीबार नेप्से ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा आइपुगेको छ । यसदिन २६० कम्पनीको २ अर्ब ५२ करोड रुपैयाँ बढीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये माइक्रोफाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ९.५४ प्रतिशतले घटेको छ ।
आज छिमेक लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको साढे ८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको झन्डै ८ करोड र हिमालयन डिस्ट्रीलरी ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले घटेको बजारमा आज ४४ वटा लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । छिमेक, डिप्रोक्स, जीवन विकास, स्वरोजगार, नयाँ सारथी, महिला, परवार्ड, जीवन विकास, साधना, मिथिला, मिर्मिरे, ग्लोबल आइएमई, एनएमबी, नेशनल, उन्नति, उपकार, आरम्भ चौतारी, सिभिल लगायत ३ दर्जन लघुव्त्तिको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ भने आधा दर्जन लघुवित्तको सेयर मूल्य पनि करिब १० प्रतिशतले घटेको छ ।