३ दशकपछि गति लिँदै दैजी-छेला औद्योगिक क्षेत्र निर्माण, सुदूरपश्चिमको विकासमा फड्को मार्ने

दोधारा चाँदनी । वि. सं.२०५१ मा घोषणा भएको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढेको छ । झन्डै ३ दशकदेखि चर्चामा रहेको कञ्चनपुरको बेदकोट नगरपालिकास्थित औद्योगिक क्षेत्रको कार्यालय स्थापना भएसँगै कामले गति लिएको हो ।

विसं २०७७ फागनु १० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त औद्योगिक क्षेत्र शिलान्यास गगरेका थिए । अहिले कार्यालय स्थापनासँगै औद्योगिक क्षेत्रकोे रूख छपानको काम अन्तिम चरणमा पुगेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक महिनाभित्र मन्त्रिपरिषद्बाट निर्णय गराएर औद्योगिक क्षेत्रमा रूख कटान सुरु गरिने बताए । ‘म जति दिन मन्त्री रहन्छु औद्योगिक क्षेत्रको काम अघि बढाउन लाग्नेछु,’ उनले भने, ‘एक महिनाभित्रै औद्योगिक क्षेत्रमा रूख कटानी हुन्छ लगत्तै यहाँ भौतिक पूर्वाधारका काम अघि बढ्नेछन् । अब  पश्चिमबाट औद्योगिक विकास हुन्छ ।’

‘औद्योगिक क्षेत्रको भोगाधिकार र अन्य प्राविधिक सबै समस्या समाधान गर्न मन्त्रालय लागेको छ,’ मन्त्री भण्डारीले भने, ‘यो निमार्णका लागि बजेट पनि कमी हुन दिइने छैन ।’

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सञ्जयलाल मानन्धरलेरूख छपानको काम सकिएलगत्तै मन्त्रिपरिषद्बाट निर्णय भएपछि मात्र भौतिक संरचना निर्माण अघि बढ्ने बताए । ‘रूख कटानपछि पहिलो चरणमा यहाँ बिजुली बत्तीलगायत आवश्यक काम गरिनेछ त्यसका लागि हामी प्रक्रियामा गइसकेका छौँ,’ उनले भने, ‘दोस्रो चरणमा प्रशासनिक भवन र भौतिक पूर्वाधारहरु निर्माण हुनेछन् ।’

महाप्रवन्धक मानन्धरले उक्त औद्योगिक क्षेत्रमा एक उद्योगका लागि पाँच कट्ठादेखि पाँच बिघा जमिन छुट्याइएको बताउनुभयो । ‘औद्योगिक क्षेत्र निर्माणका लागि रु नौ अर्ब  खर्च हुने अनुमान गरेका छौं,’ उनले भने, ‘उद्योग स्थापना भएमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २२ हजारले रोजगारी पाउनेछन् । औद्योगिक क्षेत्रमा एक सयवटा प्लट रहने गरी साना उद्योगका लागि २३, मझौला उद्योगका लागि ४४ र ठूला उद्योगका लागि ३३ प्लट छुट्याइएको छ । ‘

नगर नगरप्रमुख भोजराज बोहराले औद्योगिक क्षेत्र निर्माणका लागि प्रक्रियागत उल्झनमै बढी समय लागे पनि अब ढिलाइ गर्न नहुने बताए । ‘वातावरणीय प्रभाव मूल्याङ्कनअनुसार २७ हजार रूख भएको सो क्षेत्रमा अहिले ४१ हजार रूख छपान भएका छन्,’ उनले भने, ‘औद्योगिक क्षेत्र स्थापनाका लागि नगरपालिका लागिपरेको छ । देखिएका प्राविधिक समस्या समाधानका लागि हामीले पहल गरिरहेका छौँ ।’

औद्योगिक क्षेत्रको कार्यालय स्थापनापश्चात् यहाँका वासिन्दामा समेत आशा जागेको छ । ‘अहिले रूख छपानको काम पनि भइरहेको छ कार्यालय पनि खुलिसक्यो अब त बन्छ होला,’ औद्योगिक क्षेत्र नजिकै घर भएका धनबहादुर चौधरीले भने, ‘बने त हामीलाई पनि रोजगारी पाउने आशा छ छोराछोरीले रोजगारी गर्न विदेश जानुपर्ने थिएन ।’ यो औद्योगिक क्षेत्रको निर्माण भएपश्चात् सुदूरपश्चिमको आर्थिक विकासले फड्को मार्ने अपेक्षा गरिएको छ ।

१ दर्जन लघुवित्तको खराब कर्जा सीमा माथि, कुनको कति ? Read Previous

१ दर्जन लघुवित्तको खराब कर्जा सीमा माथि, कुनको कति ?

सीसीटीभी हेरेर नियम उल्लंघन गर्नेलाई धमाधम कारबाही गर्दै ट्राफिक, ४३१४ जना कारबाहीमा Read Next

सीसीटीभी हेरेर नियम उल्लंघन गर्नेलाई धमाधम कारबाही गर्दै ट्राफिक, ४३१४ जना कारबाहीमा