काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा ह्वात्तै बढेको छ । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्मा लघुवित्तको खराब कर्जा दोब्बरले बढेर औसतमा साढे ४ प्रतिशत पुगेको हो ।
गत वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तहरूको खराब कर्जा औसतमा साढे २ प्रतिशत हाराहारीमा थियो । लगानी भएको कर्जा असुल हुन नसकेपछि लघुवित्तको खराब कर्जा ह्वात्तै बढेको हो ।
कम्पनीहरूको खराब कर्जा बढी हुनु भनेको वित्तीय स्वस्थ्य बिग्रिनु हो । नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा ५ प्रतिशत नाघेपछि संस्थाको वित्तीय अवस्था बिग्रिएको मानिन्छ ।
बैंकिङ प्रणालीमा भएको तरलता अभाव र ब्याजदर वृद्धिको प्रभाव लघुवित्तहरूको व्यवसायमा पर्दा नाफा पनि प्रभावित भएको छ । समीक्षा अवधिमा लघुवित्तहरूको खुद नाफा साढे ४२ प्रतिशतले घटेको छ ।
१ दर्जन लघुवित्तको खराब कर्जा सीमा माथि
समीक्षा अवधिमा लघुवित्त कम्पनीहरूको औसत खराब कर्जा नै साढे ४ प्रतिशत रहेको छ । नेप्सेमा सूचीकृत ५९ लघुवित्तमध्ये १ दर्जन लघुवित्तको खराब कर्जा सीमा माथि अर्थात् ५ प्रतिशत नाघेको छ ।
जसमा सबैभन्दा धेरै सामुदायिक लघुवित्तको खराब कर्जा सबैभन्दा धेरै ९.०४ प्रतिशत रहेको छ । त्यसैगरी, ग्रामीण विकास ८.९१ प्रतिशत, निर्धन उत्थान ८.३८ प्रतिशत, मनकामना स्मार्ट ७.९३ प्रतिशत, धौलागिरी लघुवित्तको ७.६९ प्रतिशत खराब कर्जा रहेको छ ।
त्यस्तै, वीन नेपाल लघुवित्तको ७.५४ प्रतिशत, नाडेप लघुवित्तको ७.४५ प्रतिशत, यूनिक नेपाल ७.३७ प्रतिशत, उपकार लघुवित्त ७.१५ प्रतिशत, स्वालम्बन ७.१० प्रतिशत, मानुषी लघुवित्त ६.५७ प्रतिशत र लक्ष्मी लघुवित्तको खराब कर्जा ५.७२ प्रतिशत रहेको छ ।