अहिलेकै जनशक्ति र पूर्वाधारले राष्ट्र बैंकले सहकारी नियमन गर्न सक्ने देखिँदैन : पूर्व गभर्नर क्षेत्रीको विचार

काठमाडौं । सरकारले वार्षिक ५० करोड रूपैयाँ बढीको कारोबार गर्ने सहकारी संस्थाहरूलाई राष्ट्र बैंकको नियमनमा ल्याउने गरी राष्ट्र बैंक ऐन संशोधन गर्न संसदमा विधेयक पेस गरेको छ ।

केन्द्रीय बैंक नेपाल सरकारको आर्थिक सल्लाहकार हो । सरकारले निर्णय गर्दा राष्ट्र बैंकसँग सल्लाह नगरी गरेको छैन होला । राष्ट्र बैंककै हिसाब किताब हेर्ने हो भने कर्मचारीहरू थोरैले धेरै काम लिनुपर्छ भन्ने छ ।

सहकारी बाहेकका बैंक तथा वित्तीय संस्थाहरू लघुवित्त, वित्तीय संस्था र बैंकलाई नै नियमन गर्न हम्मेहम्मे परेको प्रष्ट देखिन्छ । बेला–बेलामा बैंक वित्तीय क्षेत्रले जरीवाना तिर्नु परिरहेको छ ।

राम्रै काम गरेकोे भए जरीवाना तिर्नु नपर्ने हो । निरीक्षण दुई किसिमको हुन्छ, एउटा त्यहीँ प्रत्यक्ष रूपले कर्मचारी गएर कागजपत्र हेरेर नियमन गरिन्छ । जसलाई अनसाइड भनिन्छ ।

अर्को भनेको अफसाइड भनेको, मान्छे जाँदैनन् । तपाईंहरूले यस्तो गर्नुपर्छ भनेर कानुनले तोकिदिएको हुन्छ, त्यसलाई उनीहरूले लेखापढी गरेर दिन्छन् । उसले पठाइएको सूचनाको आधारमा नियमन गरिन्छ ।

पछिल्लो समय पर्याप्त कर्मचारी नभएकाले अफसाइडलाई हामीले धेरै जोड दिएका छौं । एउटा बैंकको तीन वर्षमा एक पटक पालो आउँछ भन्ने चर्चा समेत आएको थियो । यस्तो हो भने जसरी पनि पैसा कमाउनु पर्छ । नाफा लिनुपर्छ भन्ने मानसिकता भएको हाम्रो अर्थतन्त्रमा हुनुपर्ने कामभन्दा थाहा पाएन भने भैहाल्यो थाहा पाए ‘देखाजाएगाा’ भन्ने रूपले भन्ने अघि बढ्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।

अहिलेकै जनशक्ति र पूर्वाधारले राष्ट्र बैंकले सहकारीको नियमन गर्न सक्ने देखिँदैन । देशभर ३४/३५ हजार सहकारी छन् भनिन्छ । त्यसैको २० प्रतिशत मात्र संस्थाहरू वार्षिक ५० करोड रूपैयाँ माथिका छन् भने पनि थप जिम्मेवारी भयो ।

त्यसैले केही समयका लागि त राष्ट्र बैंकलाई गाह्रो हुनसक्छ । एनजीओ आइएनजीओले पनि विभिन्न रूपमा खर्च गदै आएका छन् । त्यसैले धेरै पहिलेदेखि नै लघुवित्त लगायत यी गैर बैंकिङ संस्थाहरू नियमनका लागि छुट्टै नियामक बनाउने भन्ने कुरा उठ्दै आएको हो । तर, कुनको कहाँ पहुँच पुग्छ यो विषय यसै हराएर जान्छ ।

ती सहकारीहरूले ऋण र बचतको पनि कारोबार गर्न पाउने भन्ने हो भने दायरामा आएर काम गर्ने र निर्णयलाई पालना गर्ने भन्ने हुन्छ । हुन त अहिले पनि कतिपय ठूला सहकारीहरूले राष्ट्र बैंकले विकास बैंक, लघुवित्तलाई दिइएको नियमन पालना गर्ने चेष्टा गरेका छन् । तर, पालना नगरे पनि कसले हेर्ने भन्ने विषय छैन ।

सोही कारण राष्ट्र बैंकले ठूला सहकारीलाई नियमन गर्ने भन्ने सरकारको यस निर्णलाई यसै परिप्रेक्षमा लिन सकिन्छ । तर, नियम बनाएर कार्यान्वयन भएन भने त्यो अर्को बिडम्बना हुन्छ ।

राष्ट्र बैंकको मातहतमा जाने भन्ना साथ अलिकत्ति दृष्टिकोण फरक पर्छ । तर, राष्ट्र बैंकले हेरे पनि बैंक वित्तीय संस्थालाई जरीवाना गर्नु नपर्ने घटनाहरू घटिरहेकै छन् । रोकिएका छैन र ? बरू सहकारीलाई समेत हेर्नुपर्दा ध्यान बाँडिने र त्यो विकृति बैंकिङ क्षेत्रमा समेत आउँछ कि भन्ने डर हुन्छ । -(पूर्व गभर्नर क्षेत्रीसँग गरिएको कुराकानीमा आधारीत)

नियम विपरीत सेयर राइड गर्ने इनड्राइभर १७ चालक कारबाहीमा Read Previous

नियम विपरीत सेयर राइड गर्ने इनड्राइभर १७ चालक कारबाहीमा

सुपरमाइ हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

सुपरमाइ हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा