‘आगामी एक वर्षको मूल्यवृद्धि १२ प्रतिशत पुग्छ’ : राष्ट्र बैंकको अध्ययन

काठमाडौं । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ । सर्वेक्षणले तीन महिना र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति १० प्रतिशत र १२ प्रतिशत रहने अपेक्षा गरेको छ ।

८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् ।

तीन महिना पछि र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति गत असोजको तुलनामा समान रहेको छ भने तीन महिना पछिको औसत र एक वर्ष पछिको औसत अपेक्षित मुद्रास्फीति घटेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अवको तीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोजको तुलनामा घटेको छ । खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा बढेको छ ।

गैर(खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा केही घटेको छ ।

खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध तथा घ्यु पेय पदार्थ तथा सूर्ती र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूह, गैर(खाद्य तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको एक वर्षमा मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूका हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ ।

सर्वेक्षण २०७९ पौष २४ देखि पौष ३० सम्म ६० बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तरवार्तामार्फत सम्पन्न गरिएको थियो । प्रस्तुत परिणामहरू २०१० जना उत्तरदाताहरुसँग गरिएको सर्वेक्षणमा आधारित रहेको छ ।

हाइड्रोपावरमा बैंकको लगानी दोब्बरले बढ्यो, कुनको कति छ ? Read Previous

हाइड्रोपावरमा बैंकको लगानी दोब्बरले बढ्यो, कुनको कति छ ?

उपकार लघुवित्त र अपि पावरको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Next

उपकार लघुवित्त र अपि पावरको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?