हाइड्रोपावरमा बैंकको लगानी दोब्बरले बढ्यो, कुनको कति छ ?

सांकेतिक तस्वीर ।

काठमाडौं । ऊर्जा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्दै गएको छ । जलविद्युत् आयोजना निर्माणको क्रम बढेसँगै बैंक तथा वित्तीय संस्थाहरूले पनि लगानी बढाएका हुन् ।

पछिल्लो साढे दुई वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको हाइड्रोपावरमा कर्जा लगानी झन्डै दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७६/७७ सम्म हाइड्रोपावरमा वाणिज्य बैंकको कुल लगानी १ खर्ब ५६ करोड रुपैयाँ रहेकोमा २०७९/८० पुस मसान्तसम्म २ खर्ब ६५ करोड रुपैयाँ पुगेको हो ।

राष्ट्र बैंकका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले २ खर्ब ७२ अर्ब रुपैयाँ हाइड्रोपावर क्षेत्रमा लगानी गरेका छन् । सोमध्ये वाणिज्य बैंकको २ खर्ब ६५ अर्ब रुपैयाँ छ ।

एक पटक लगानी गरेपछि लामो अवधिसम्म प्रतिफल पाइने भएपछि लगानीकर्ताका जलविद्युत्मा लगानी गरिरहेका छन् । निजी क्षेत्रका व्यवसायीले लगानी बढाएसँगै बैंकहरूले पनि कर्जा लगानी बढाएका हुन् ।

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा हाइड्रो इनर्जी उत्पादनमा बैंकहरुले लगानी बढाउँदै लगेको बताउँछन् । ‘जलविद्युतमा निजी क्षेत्रबाट पनि लगानी भइरहेको छ । अहिले सम्मको तथ्यांक हेर्ने हो भने झण्डै तीन खर्ब रकम लगानी गरेका छन्,’ उनले भने, ‘राष्ट्र बैंकले वातावरणीय क्षेत्रलाई ध्यानमा राखेर संस्थाहरुले कर्जा लगानी गर्नुपर्ने केही नीतिगत मापदण्ड बनाएको थियो । प्राकृतिक वातावरण प्रतिकुलहुने गरी लगानी गर्न पाउँदैनन् । त्यो मार्गदर्शनले हाइड्रोपावरको क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ ।’ यस नीतिलाई पोलिसी पूर्वाधारको रुपमा लिन सकिने उनले बताए ।

प्रदूषणरहित इनर्जीको रुपमा प्रयोग गरिने विद्युत्को माग बढ्दो छ । विद्युतीय सवारी साधन तथा उपकरणको प्रयोग बढेसँगै हाइड्रो इनर्जीको माप पनि सोही अनुसार बढेको छ । जसको कारण आन्तरिक तथा बाह्य माग पूर्तिका लागि नयाँ आयोजनाहरूमा लगानी र निर्माणको प्रक्रिया तीव्र छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले हाइड्रोपावरमा अनिवार्य कर्जा लगानी गर्नुपर्ने नियामकीय व्यवस्था गरेको छ । जसको कारण संस्थाहरू यस्तो सेक्टरमा लगानी गर्न कानुनी रुपमा बाध्यात्मक र लगानीको दृष्टिकोणले प्रोत्साहित छन् ।

कर्जा लगानीको हिसाबले ऊर्जा क्षेत्र जोखिमयुक्त मानिए पनि प्रतिफल र अर्थतन्त्रको लागि राम्रो भएको वित्तीय क्षेत्रका जानकारहरू बताउँछन् ।

पछिल्लो समय बैंकहरू बीच चलेको बिग मर्जरले वित्तीय आधार र पूँजीको आकार बलियो बन्दै गएको छ । जसले यस्ता क्षेत्रमा थप लगानी बढाउन सहज हुनले र लगानी बढ्ने अपेक्षा गरिएको छ ।

अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानिएको हाइड्रो क्षेत्रमा आन्तरिक लगानी बढे पनि बाह्य लगानी भने सरकारले आकर्षण गर्न सकेको छैन । स्पष्ट लगानीको मोडल तय नहुँदा ठूला जलविद्युत आयोजनामा लगानी जुट्न सकेको छैन । जसको कारण निर्माण प्रक्रिया समेत प्रभावित भएको छ ।

कुन बैंकको कति लगानी ?

हाइड्रो क्षेत्रमा सबैभन्दा बढी लगानी ग्लोबल आइएमई बैंकले गरेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार यस बैंकले चालु वर्षको पुस मसान्तसम्म २६ अर्ब २३ करोड रुपैयाँ लगानी गरेको छ । इन्भेष्टमेन्ट मेगा बैंकको लगानी २४ अर्ब छ ।

त्यस्तै, नबिल बैंकले २० अर्ब ३१ करोड, कुमारी बैंक १६ अर्ब ७६ करोड, प्रभु, राष्ट्रिय वाणिज्य बैंक, एनएमबीले १६/१६ अर्ब रुपैयाँ बढी लगानी गरेका छन् । त्यसैगरी, सानिमा १४ अर्ब, नेपाल बैंक, सिद्धार्थ बैंकले ११/११ अर्ब, सनराइज र प्राइम बैंकले १०/१० अर्ब बढी लगानी गरेका छन् ।

हाइड्रो क्षेत्रमा सबैभन्दा कम लगानी गर्नेमा कृषि विकास र एनआइसी एसीया बैैंक रहेका छन् । यी दुवै बैंकले साढे ३/३ अर्ब रुपैयाँ बढी लगानी गरेका छन् ।

 

मीरगञ्ज पुल संचालनमा, भारतसँगकाे ११६ किमीको दुरी ४ किमीमा छोट्टियो Read Previous

मीरगञ्ज पुल संचालनमा, भारतसँगकाे ११६ किमीको दुरी ४ किमीमा छोट्टियो

‘आगामी एक वर्षको मूल्यवृद्धि १२ प्रतिशत पुग्छ’ : राष्ट्र बैंकको अध्ययन Read Next

‘आगामी एक वर्षको मूल्यवृद्धि १२ प्रतिशत पुग्छ’ : राष्ट्र बैंकको अध्ययन