सेयर मूल्य २५६७ रुपैयाँ भएको लघुवित्तको नाफा जम्मा ७ लाख, ईपीएस कति ?

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५०.१४ प्रतिशतले घटेको छ ।

लघुवित्तले चालु आवको पुस मसान्तसम्ममा ७ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ७ लाख ३७ हजार रुपैयाँ कम हो । लघुवित्तले गत वर्षको दोस्रो त्रैमासमा १४ लाख ७० हजार खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र संचालन मुनाफा घट्दा कम्पनीको नाफामा उच्च गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.५० प्रतिशत घटेर ९० लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । लघुवित्तको सञ्चालन मुनाफा ३२.६८ प्रतिशतले घटेर ११ लाख ६४ हजार रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा लघुवित्तले १५ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन र १० करोड ७२ लाख सापटी लिई कुल २८ करोड ४० लाख रुपैयाँ ऋण लगानी गरेको छ । हाल २ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ करोड ७२ लाख रुपैयाँ संचित छ ।

नाफामा गिरावट आएसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा ठूलो गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २१ रुपैयाँबाट घटेर ७.०८ रुपैयाँमा आएको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १८३.३९ रुपैयाँ, खराब कर्जा २.२९ प्रतिशत छ । हाल आइपीओ जारी गरेको लघुवित्तको सेयर मूल्यमा लगातार १० दिनदेखि पोजेटिभ सर्किट लाग्दै आएको छ । लघुवित्तको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २५६७ रुपैयाँ छ ।

बुटवल पावरको नाफामा सुधार, प्रतिसेयर आम्दानी कति ? Read Previous

बुटवल पावरको नाफामा सुधार, प्रतिसेयर आम्दानी कति ?

तीन सातामा सडकको ९० प्रतिशत खाल्डाखुल्डी पुरिएको दाबी Read Next

तीन सातामा सडकको ९० प्रतिशत खाल्डाखुल्डी पुरिएको दाबी