तीन सातामा सडकको ९० प्रतिशत खाल्डाखुल्डी पुरिएको दाबी

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफूले काठमाडौँका सडकमा रहेका समस्या सबैसँग समन्वय गरेर समाधान गर्न सुरु गरेको बताएका छन् । उनले तीन सातामा झण्डै ९० प्रतिशत समस्या सुधार भएको दाबी गरे ।

मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयमा नै उनले सडकमा संरचना रहेका निकायका प्रमुखसँग बैठक गरेर मर्मत र सुधारका लागि लाग्न भनेका थिए। यो अवधिमा समग्र सडकमा ६० प्रतिशत सुधार देखिए पनि मन्त्रालयको कार्यक्षेत्रमा रहेका सडकमा ९० प्रतिशतमा सुधार रहेको बताए ।

खाल्डाखुल्डी पुर्ने काम मन्त्रालय एक्लैले चाहेर मात्रै गर्न नसकिने भएकाले भने पनि आठ निकायलाई एक ठाउँमा ल्याएर गरिरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए। सडक विभागले सडक मर्मत गरे पनि अरु निकायले मर्मत गर्नासाथ तत्काल खन्ने गरेकाले खाल्डा पूरै हटाउन नसकिएको उनले उल्लेख गरे । उनले भने, ‘मेलम्चीको एक सय वर्ष पुरानो पाइप एकातिर समस्या आयो भनेर गर्दा नजिकै अर्कोतिर खाल्डा पर्ने भइरहेको छ ।’

आर्थिक विकास नयाँ ढङ्गबाट हुन जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । जहाँ विकास भएको छ त्यहाँ विकास नै विकास हुने र केही सीमित ठाउँमा मात्रै विकास केन्द्रित गर्नेभन्दा सबै भागमा विकास पुग्ने गरी लाग्नुपर्ने उनको भनाइ छ ।

भौतिक पूर्वाधारले फड्को नमारेसम्म समग्र विकासले फड्को नमार्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए । नेपालमा विद्युत्, पर्यटन, जडीबुटी वा जनशक्ति धेरै कुरा एकसाथ सम्भावना भएकाले ठीक रुपमा प्रयोग गरेर विकासको फड्को मार्न मन्त्रालयको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।

 

सेयर मूल्य २५६७ रुपैयाँ भएको लघुवित्तको नाफा जम्मा ७ लाख, ईपीएस कति ? Read Previous

सेयर मूल्य २५६७ रुपैयाँ भएको लघुवित्तको नाफा जम्मा ७ लाख, ईपीएस कति ?

भारतले बिजलपुरा-बर्दीबास रेलमार्ग निर्माण चालु वर्षमै सुरू गर्ने Read Next

भारतले बिजलपुरा-बर्दीबास रेलमार्ग निर्माण चालु वर्षमै सुरू गर्ने