काठमाडौं । भारतले बिजलपुरादेखि बर्दीबासम्म रेल निर्माणको काम चालु आवभित्रै सुरू गर्ने भएको छ । जग्गा अधिग्रहणको काम सम्पन्न हुने बित्तिकै निर्माण थाल्ने तयारी गरेको हो ।
रेल विभागका महानिर्देशक रोहितकुमार विसुरालले भारत सरकारसँग चालु सक्दो चाँडो काम सुरू गर्ने गरी कुरा भएको बताए । जग्गा अधिग्रहणको काम ढिलाइ भएका कारणले भारतले चाँडो अधिग्रहणको काम सकेर जानकारी गराउन भनेको उनले बताए ।
‘यो आर्थिक वर्ष भरीमा भारतले निर्माण सुरू गर्ने भनेको छ, भारती तर्फबाट शतप्रतिशत क्लियरेन्स गराएर काम गर्नका लागि बोलाउने गरी कुराकानी भएको छ, हामीले १०० प्रतिशत हैन ९० प्रतिशत क्लियर भएपछि आउनु भनेका छौँ,’ विसुरालले चाणक्य पोष्टसँग भने ।
उनले हालसम्म ६४ प्रतिशत मुआब्जा भुक्तानी भइसकेको बताए । बिजलपुरादेखि बर्दीबाससम्म १८ किलोमिटर रेल निर्माणका लागि जग्गा प्राप्तिको काम भइरहेको हो । भारत सरकारको ७ अर्ब २० करोड आर्थिक सहयोगमा सुरू भएको परियोजना अन्तर्गत बर्दीबास खण्डमा जग्गा प्राप्तिको काम भइरहेको हो ।
रेल वे कर्पोरेसनका इन्जिनीयरका रवीन्द्र शाहले बिजलपुराबाट बर्दीबाससम्म कमिटि गठन गरी जग्गा प्राप्तिको काम भइरहेको बताए । उनले जग्गा प्राप्तिपछि सो खण्डमा समेत रेल निर्माणका लागि बेड बिछ्याउने काम हुने बताए । साइट क्लियरेन्सको काम नेपालको भए पनि रेल निर्माणको काम भने भारतले आफैं गर्नेछ ।
बर्दीवासमा अधिग्रहण गरिएका ५४ बिघा जग्गा प्राप्ति गर्नुपर्नेमा अब २० प्रतिशत जग्गा प्राप्ति गर्न बाँकी रहेको उनले बताए । बर्दीवासमा रेल्वे स्टेसन तथा बन्दरगाह निर्माण गर्न रेल्वे कम्पनीले स्थानीय जग्गाधनीसँग प्रतिकट्ठा ८ लाख रुपैयाँदेखि ८१ लाख रुपैयाँसम्म मुआब्जा वितरण गरिरहेको जनाइएको छ ।
मुआब्जा वितरणका लागि रेल्वे कम्पनीले १ अर्ब ६ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । भारतको जयनगरदेखि नेपालको बर्दीबाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माणको काम भइरहेको छ । सो मध्ये जयनगरदेखि कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनमा आइसकेको छ ।
कुर्थादेखि बिजलपुरासम्म लिक निर्माण पूरा गरी रेल सञ्चालनको परीक्षण भइसकेको छ । अब जयनगरदेखि बिजलपुरासम्म रेल सञ्चालनका लागि भारत रेलवे कर्पोरेसनले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ ।
रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा दुईपक्षीय सम्झौता भएको थियो । रेलको निर्माण २०११ माघ महिनाबाट सुरू भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडको निगरानीमा धनुषा र महोत्तरीमा २ वटा निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो ।