सिटिजन्स बन्यो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक, यस्ताे छ प्रगति

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक बनेको छ।

 

बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएको छ । आम्दानी घटेसँगै बैंकको मुनाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।

 

बैंकको मुनाफा घटेपनि निक्षेप संकलन, खराब कर्जा अनुपात, आधार ब्याजदर लगायतका सूचकहरुमा भने सुधार गरेको छ ।

 

बैंकको खुद नाफा करिब ८ करोड घटेको छ । पहिलो त्रैमाससम्ममा बैंकले ३४ करोड ९१ लाख ६९ हजार रुपैयाँले खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले ४२ करोड ८८ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

 

नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड (एनएफआरएस) प्रतिवेदन अनुसार बैंकको वितरण योग्य नाफा २१ करोड ३ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

 

बैंकले निक्षेप संकलन र कर्जा विस्तार सामान्य प्रगति गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको कर्जा विस्तार ७.३८ प्रतिशतले र निक्षेप संकलन २.७४ प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिमा ७२ अर्ब ४३ करोड ९१ लाख निक्षेप संकलन गरेको छ भने ६७ अर्ब ५५ करोड ४१ लाख बराबरको कर्जा लगानी गरेको छ।

 

बैंकको खुद ब्याज आम्दानी ४ करोड ४८ लाख रुपैयाँले घटेको छ । गत आवको पहिलो त्रैमाससम्ममा ७५ करोड ३१ लाख ४१ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवको यसै अवधिमा घटेर ७० करोड ८३ लाख २५ हजारमा संकुचन आएको छ।

 

बैंकले २ अर्ब ३५ करोड ३४ लाख ब्याज आम्दानी गरेर १ अर्ब ६४ करोड ५० लाख ब्याज खर्च गरेको हो।हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड २२ लाख रुपैयाँमा पुगेको छ । यसैगरि बैंकको जगेडा कोषमा दुई अर्ब ९५ करोड २८ लाख रुपैयाँ सञ्चित छ ।

 

समिक्षा अवधिमा बैंकको खुद मुनाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । बैंकको प्रतिसेयर आम्दानी ५.०६ रुपैयाँले घटेर १६.२० रुपैयाँमा आइपुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३७.१८ रुपैयाँ रहेको छ ।

 

बैंकले आफ्नो खराब कर्जा अनुपातमा सुधार गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा अवधिमा १.२३ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर ०.९८ प्रतिशतमा ल्याएको छ ।

 

बैंकको पूँजीकोष अनुपात १२.६६ प्रतिशत, कर्जा निक्षेप अनुपात ७८.४१ र स्प्रेडदर ४.१६ प्रतिशत रहेको छ ।

 

बाँकेको कोहलपुर-धामपुर ३३ केभी प्रसारण लाइनमा विद्युत् प्रवाह Read Previous

बाँकेको कोहलपुर-धामपुर ३३ केभी प्रसारण लाइनमा विद्युत् प्रवाह

प्रभु बैंकको १ अर्बको ऋणपत्र कार्तिक २१ गतेदेखि बिक्री खुल्ला हुने Read Next

प्रभु बैंकको १ अर्बको ऋणपत्र कार्तिक २१ गतेदेखि बिक्री खुल्ला हुने