काठमाडौं । नेपाली सप्लायर व्यसायीहरूले मास प्रिन्टर खरिदमा चासो नदेखाएको पाइएको छ । यातायात विभागले मास प्रिन्टर खरिदका लागि ठेक्का आह्वान गरेकोमा कुनै पनि आवेदन नपरेको हो ।
यातायात विभागका महानिर्देशक टोकराज पाण्डेले मास प्रिन्टर ल्याउन नेपाली सप्लायरले मात्र आवेदन दिन पाउने गरी आह्वान गरिएको ठेक्कामा कुनै आवेदन नआएको बताए । उनले मास प्रिन्टर ल्याउन फेरि ठेक्का आह्वान गरिने बताए ।
‘मास प्रिन्टर ल्याउन आह्वान गरिएकोमा कसैले आवेदन हालेका छैनन्, अब फेरि ठेक्का आह्वान गरेर यही वर्ष ल्याउने छौं,’ महानिर्देशक पाण्डेले चाणक्य पोष्टसँग भने ।
उनका अनुसार अहिले दैनिक ६ हजार लाइसेन्सको माग रहेको छ । हाल यातयात विभागसँग भएको मास प्रिन्टरले दैनिक ४ हजार कार्ड प्रिन्ट गर्छ । यस अनुसार अझै पनि २ हजार कार्ड अपुग हुन्छ । उनले प्रिन्ट गर्न बाँकी रहेको ७ लाख स्मार्ट लाइसेन्स प्रिन्ट हुन अझै समय लाग्ने बताए ।
यस्तै, उनले वैदेशिक रोजगारीमा जाने अथवा विदेश जानेहरूका लागि ३ दिनमै लाइसेनस पाउने व्यवस्था रहेको जानकारी दिए ।उनले मास प्रिन्टर आएपछि दैनिक ३ सिफ्टमा काम गरेर कार्ड प्रिन्ट गर्ने बताए । हाल दुई सिफ्टमा मात्र कार्ड प्रिन्टको काम भइरहेको छ ।