काठमाडौं । सेयर बजारमा उछाल आएको छ । यससाता सुरुका दुई दिनमा जम्मा ५ अंकले बढेको नेप्से आज उच्च अंकले बढेको हो ।
गतसाता ८८ अंकको करेक्शन आएको सेयर बजारले यस साता गति लिएको हो । नेपाल राष्ट्र बैंकले सोमबार अर्थतन्त्रको अधिकांश सूचकमा सुधार आएको प्रतिवेदन सार्वजनिक गरेपछि लगानीकर्ता उत्साहित हुँदा बजारले छलाङ मारेको हो ।
साथै, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा सेयर बजारका समस्या सम्बोधन गर्नेमा लगानीकर्ता आशावादी बन्दै गएका छन् । जसले बजारमा सकारात्मक प्रभाव पार्ने लगानीकर्ताको भनाइ छ ।
सूचकसँगै आज कारोबारमा पनि ठूलो बढोत्तरी भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ८९ करोड करोडले बढेर झन्डै साढे ३ अर्ब पुगेको छ ।
मंगलबार नेप्से ७६.६४ अंकले बढेर २१७७.३४ विन्दुमा पुगेको छ । यसदिन २६० कम्पनीको ३ अर्ब ३६ करोड रुपैयाँ बढीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । लगानी समूह सबभन्दा धेरै ६.२५ प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपावर, विकास बैंक र फाइनान्स समूह पनि ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, ङादी ग्रुप ११ करोड र अपि पावर ९करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले बढेको बजारमा आज आधादर्जन बढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आदर्श लघुवित्त, बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र राधी विद्युत् कम्पनीका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, रिडी पावर, ग्रीन भेन्चर र ङादी ग्रपको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।