मिठाईको पर्व तिहार: अन्य समयभन्दा ४० प्रतिशतसम्मले व्यापार बढ्ने

काठमाडौं । फलफूल तथा अन्य सामाग्रीजस्तै तिहारमा मिठाईको माग पनि उच्च रहने गर्दछ । तिहार, छठलगायत पर्वमा धेरै विक्री हुने खाद्य वस्तुमध्ये पर्छ मिठाई । तिहार मिठाईको नै पर्व हो । तिहारका अन्य थुप्रै विशेषतामध्ये मिठाई पनि एक हो ।

 

भाइटीकामा मिठाईको उपभोग सामान्य दिनको भन्दा बढी हुने भएकाले मिठाईको माग तथा विक्री बढ्ने गरेको सम्बन्धित व्यापारीहरू बताउँछन् । सामान्यतया भन्दा तिहार तथा छठजस्ता चाडपर्वमा मिठाईको उपभोग करिब ३५ देखि ४० प्रतिशतसम्मले वृद्धि हुने व्यापारीहरुको भनाई छ ।

 

मिठाई देवीदेवतालाई चढाउन, प्रसादका रूपमा ग्रहण गर्नेदेखि विभिन्न शुभकार्य, भोज, भतेरलगायतमा आवश्यक मानिन्छ । जन्मोत्सव, पदोन्नति तथा कुनै उपलब्धिको खुशियालीमा मिठाई खुवाउने चलन छ । त्यस्तै, शुभ साइतमा मिठाईको प्रयोग गर्नु हिन्दू नेपालीको एक प्रकारको परम्परा नै रहेको छ भन्दा खासै फरक पर्दैन ।

तिहारमा सेलरोटी तथा जेरी नेपाली परम्परागत मिठाई हुन् । यतिबेला व्यापारीहरू तिहारलाई लक्षित गरी मिठाई तयार पार्न लागिपरेका छन् ।

 

जेरी, रसबरी, लालमोहन, बेसनको लड्डु, मसला लड्डु, मुङको लड्डु, मोतीचूडको लड्डु, नरिवल लड्डु्, सुजीको लड्डु, चक्लेट बर्फी, पेडा, केसरी पेडा,काजुको मिठाई तिहारका बेला बढी खपत हुने गरेको छ । यस्तै, दूधबरी, रसमलाई, कालोजामुन, कलाकन्द, काजुको बर्फी, सनपापडी, काजुकमल, खोया बदाम, राजभोग, बालु शाही, चन्दकला, मुम्बई बदामी हलुवा, गाजरको हलुवालगायत पनि दशैंदेखि छठसम्म बढी विक्री हुने व्यापारीहरू बताउँछन् । यीबाहेक लखामरी अनर्सा, ऐँठे मरी र गुदपाक धेरै रुचाइने मिठाई हुन् । विशेषगरी तिहारको समयमा अनर्सा, ऐँठे मरी जस्ता मिठाई बढी रुचिमा पर्ने गरेको भेटिन्छ ।

 

उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै मिठाई उत्पादकहरूले विभिन्न स्वादमा र सुगर फ्री मिठाई पनि बजारमा उपलब्ध गराएका छन् । मिठाईको उच्च मागअनुसार स्वदेशी मिठाई उत्पादक राम भण्डार, श्याम भण्डार, अनमोल स्विट्स, वाग्मती स्विट्ससहित केही डेरी उद्योगले समेत विभिन्न प्रकारका मिठाई उत्पादन गर्दै आएका छन् । यस वर्ष मिठाईको मूल्यमा केही वृद्धि भएको व्यापारीको भनाई छ । गतवर्षको भन्दा यस वर्ष मिठाईको मूल्य करिब १० देखि १५ प्रतिशतले वृद्धि भएको व्यापारी बताउँछन् ।

 

पछिल्लो समयमा उपभोक्ताहरू स्वदेशीभन्दा आयातित मिठाईको पारखी हुन थालेका छन् । अहिले हल्दिराम, गुलाब, सजनगोठ, बाम्बिनो, बिकाजी, बिकानो, पतञ्जलिलगायत भारतीय उद्योगका मिठाई पनि नेपाली बजारमा उपलब्ध छन् । यद्यपी तिहारको समयमा मिठाईको कारोबारमा भने केही कमि आएको सजनगोठका प्रवन्धक रामप्रसाद घिमिरे बताउँछन् । “पछिल्लो समय मिठाई भन्दा पनि तिहारको समयमा ड्राईफ्रुट्सको व्यापार बढी हुन थालेको छ, घिमिरे भन्छन्, यसले गर्दा कारोबारमा कमी आउने निश्चित रहेको छ ।”

नेपाल डेरी प्रालिले एनडीएस ब्राण्डमा र दुग्ध विकास संस्थान (डीडीसी)ले पनि नेपाली चाडवाडलाई लक्षित गर्दै मिठाई उत्पादन गर्दै आएका छन् । यी मिठाईको विक्री मिनिमार्ट, सुपर मार्केट, डिपार्टमेण्टल स्टोरमार्फत हुँदै आएको छ ।

 

पछिल्लो समय बजारमा स्वदेशीभन्दा आयातित मिठाईको हिस्सा बढी छ । बाम्बिनो, बिकाजी, बिकानो, हल्दिराम, गुलाव, सजनगोठ, पतञ्जलीलगायत भारतीय उद्योग ब्रान्डसहित मिठाई पनि नेपाली बजारमा उपलब्ध छ । तर भारतिय मिठाईको तुलनामा नेपाली मिठाई गुणस्तरिय रहेको नेपाल डेरी एशोसिएसनका अध्यक्ष रामकृष्ण सापकोटा बताउँछन् ।

 

यद्यपी नेपाली मिठाई भन्ने बित्तिकै नाक खुमच्याउने र विदेशी मिठाई भनेपछि मुख मिठ्याउने नेपाली स्वभावका कारण नेपाली मिठाई बजारको हिस्सा कम हुन थालेको उनको ठम्याई छ । अहिले नेपाल र भारतीय मिठाईसहित बजारमा सन् २०१० देखि संगम स्वीट्समा उपस्थित छ । यस्तै भारतको प्रसिद्ध बिकानेर कम्पनीले नेपालमा पशुपति फुड्ससँगको सहकार्यमा आँगन ब्रान्डमा मिठाई उत्पादन र बिक्री गर्दै आएको छ ।

आँगनले अनलाइनमार्फत अर्डर लिएर घर घरमा मिठाई पुर्‍याउने सुविधा उपलब्ध गराउदै आएको छ । सन् २००१ देखि काठमाडौंमा मिठाईको कारोबार सुरु गरेको अर्को ब्रान्ड हो, रामेश्वरम् । यसले पनि अनलाइनमार्फत अर्डर लिएर उपभोक्ताको घरदैलोमै मिठाई उपलब्ध गराउने योजना सुरु गरेको छ ।

 

भारतीय ब्रान्डको दबदबा

 

राजधानीमा परम्परागत मिठाई पसल बन्द हुँदै छन् । यसको कारण भारतीय ब्रान्डका फ्रेन्चाइजको विस्तार तीव्र छ । भारतीय राजस्थानी र मारवाडी घराना समूह बिकानेरवाला, बाम्बिनो, गंगोर, रामेश्वर, बिकाजी, हल्दिराम, गुलाव, सजनगोठ, संगम स्विट्स, पशुपति फुड्सको आँगनलगायत एक दर्जन उद्योगको फ्रेन्चाइज अहिले दर्जनौंको संख्यामा सञ्चालनमा छन् ।

 

यस्ता ब्रान्डेड मिठाई सोरुमबाट जेरी अर्थात् जलेवी र जिल्फी, चकलेट बर्फी, पेडा, बेसनको लड्डु, मोतिचुड्को लड्डु सुजी, मुंग, नरिवलको लड्डु, मसला लड्डु केसरी पेडा, रसवरी, लाल मोहन, गुलाव जामुन, क्रिम मिठाई, काजुको मिठाईलगायत विक्रि हुने गरेका छन् ।

त्यस्तै कलाकन्द, काजुको बर्फि, कालो जामुन, दूध रवडी, दूधवरी, रस मलाई, गाजरको हलुवा, मुम्बई बदामी हलुवा, सनपापडी, घेवर, काजु कमल, खोया बदाम, राजभोग, बालु शाही, चन्द्रकलालगायतका अन्य थुप्रै प्रकारका मिठाई बिक्री–वितरण हुँदै आएको छ ।

 

मिठाईको इतिहास

 

मल्लकालमा बैंगलोरको त्रिपुरासुन्दरीबाट मछिन्द्रनाथसँगै मिठाई बनाउने हलुवाई नेपाल भित्रिएको इतिहास छ । भन्निछ, तिनै हलुवाई कालान्तरमा राजकर्णिकारमा परिणत भए । राजकर्णिकारको रूपमा परिणत भएका हलुवाईबाट सुरुआत भएको मिठाई बनाउने र बिक्री गर्ने परम्परा अहिले पनि उपत्यकामा जीवितै छ । राजकर्णिकारले राजस्थानबाट थप कामदार भित्राई मिठाईको कारोबार सुरु गरेका थिए ।

मिठाई व्यवसायमा संलग्न, अनिल राजकर्णिकारका अनुसार मल्लकालीन समयमा दरबारमा दैनिक हुने पूजा र शुभ कार्यमा राजकर्णिकारले तयार पारेको लखामरी, ऐठन, अनर्सा, मालपुवा, हलुवा, गुआरामारीलगायत ३२ प्रकारका मिठाई प्रयोग हुने चलन रहेको थियो । राजकर्णिकारले मरु टोल, पाटन, भक्तपुर, ललितपुरलगायत स्थानबाट नेपाली संस्कृति झल्कने मिठाईको कारोबार गरेको तथ्या मानिन्छ ।

 

त्यसपछि राणाकालीन समय र शाहवंशीय समयमा पनि राजकर्णिकारकै मिठाई दरबारमा प्रयोग हुन्थ्यो । तत्कालीन राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रको समयमा पनि दरबारमा राजकर्णिकारकै स्वादिलो मिठाई पस्किने चलन थियो । यसका लागि नारायणहिटी दरबारमा मिठाई तयार पार्ने स्थान नै छुट्टायाएको अनिल बताउँछन् ।

समय परिवर्तनसँगै राजकर्णिकार परिवारकै खलकले पछि गएर थापाथलीमा राम भण्डार, श्याम भण्डार, टेकुमा काष्टमण्डप भण्डारलगायत करिब एक दर्जन परिवारले मिठाई बनाउने काम गर्दै आएका छन् ।

 

‘उहिले हामीले तयार पार्ने मिठाई मात्रै बजारदेखि दरबारसम्म खान पाइन्थ्यो’, अनिल भन्छन्, ‘तर यो धेरै लामो समयसम्म टिक्न सकेन । अहिले हाम्रो परिवारका धेरै सदस्य यो पेसाबाट पलायन मात्रै भएनन्, विदेशिएका पनि छन् । त्यसपछि भारतबाट नेपाल आउने उच्च ओहोदाका व्यक्ति उतैबाट मिठाई बोकेर ल्याउन थाले । भारतीय मूलका कूटनीतिज्ञ, व्यापारी, कामदार घनत्व बढ्दै गएपछि विस्तारै भारतीय मिठाईको माग बढ्दै गयो । माग बढ्दै गएपछि भारतका प्रख्यात औद्योगिक घरानाबाट मिठाईको आयात हुन थालेको हो ।’

सेयर बजारमा सुधारको संकेत, कारोबार दोब्बरले बढ्यो Read Previous

सेयर बजारमा सुधारको संकेत, कारोबार दोब्बरले बढ्यो

बाँकेको कोहलपुर-धामपुर ३३ केभी प्रसारण लाइनमा विद्युत् प्रवाह Read Next

बाँकेको कोहलपुर-धामपुर ३३ केभी प्रसारण लाइनमा विद्युत् प्रवाह