काठमाडौं । सेयर बजारमा सुधारको संकेत देखिएको छ । हिजो करिब ८ अंकले बढेको बजारमा आजपनि करिब ७ अंकले वृद्धि भएको छ । बजार दुई दिनमा १४.५२ अंकले बढेको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार सूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज कारोबार रकम करिब दोब्बरले बढेको छ । दशैंपछिका दिनमा ओसतमा २० करोडभन्दा कमको कारोबार हुँदै आएको बजारमा आज पाैने ३३ करोडको कारोबार भएको छ ।
सेयर बजार मापक सूचक नेप्से ६.७३ अंकले बढेर ११४९.३४ विन्दुमा पुगेको छ । आज १५५ कम्पनीको ३२ करोड ७६ लाख ३२ हजार २५८ रुपैयाँको कारोबार भएको छ । १२ लाख ४ हजार १५ कित्ता सेयर किन बेच भएका छन् ।
कारोबार भएका ११ वटा समूहमा निर्जीवन बीमा समूह बाहेक बाँकीसबै समूहको सूचक उकालो लागेका छन् । आज जीवन बीमा सूचक सबैभन्दा धेरै २१.५१ अंकले बढेको छ । वाणिज्य बैंक समूह पनि ६.६३ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा माछापुच्छे बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको ७ करोड ११ लाख ३ हजार ५६४ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा एनआइसी एशिया बैंक र प्रभु बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । एनआइसीको ३ करोड ४५ लाख र प्रभुको १ करोड ९६ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ८.३३ प्रतिशतले बढेको छ भने अरुण कावेली हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ५.७९ प्रतिशतले घटेको छ ।