काठमाडौं । सेनिटरी प्याडको आयात घटेको छ । चालु आर्थिक वर्ष २०७९/८०को बजेट मार्फत सेनिटरी प्याडको आयातमा सरकारले दिएको ९० प्रतिशत भन्सार छुटका बाबजूद सेनिटरी प्याडको आयात घट्दै गएको हो ।
चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस)मा ४५ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको सेनिटरी प्याड आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै २३ करोड रुपैयाँको कम हो । गत वर्ष पुससम्म ६८ करोड ३१ लाख ४ हजार रुपैयाँ बराबरको प्याड आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत वर्ष ६ महिनामा सो मूल्यमा ५ करोड १७ करोड १२ हजार पिस सेनिटरी प्याड आयात भएको हो । जबकी गत वर्ष सोही अवधिमा ८ करोड ४ लाख ४० हजार ४५६ पिस सेनिटरी प्याड आयात भएको थियो ।
पछिल्ला केही वर्ष यता लगातार प्याडको आयात घटिरहेको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षमा कुल १ अर्ब ११ करोड ११ लाख रुपैयाँ बराबरको १२ करोड ९१ लाख ९४ हजार पिस सेनिटरी प्याड आयात भएको थियो । त्यस्तै, आव २०७७/७८ मा कुल १ अर्ब १७ करोडको १३ करोड ७४ लाख, आव २०७६/७७ मा कुल २ अर्ब १८ करोड ४८ लाख रुपैयाँ बराबरको २३ करोड ९ लाख पिस प्याड आयात भएको छ ।
यस अवधिमा खपत र मागमा कमी नआए पनि स्वदेशमा उत्पादन बढ्दा प्याडको आयातमा गिरावट आएको हो । भन्सार विभागका सूचना अधिकारी पूण्यविक्रम खड्काका अनुसार पछिल्लो समय नेपालमै सेनिटरी प्याड उत्पादन गर्ने उद्योग बढ्दै गएकाले आयात घटेको हो ।
‘नेपालमै प्याड उत्पादन बढ्दै छ, अहिले त प्याड निर्यात पनि हुन थालेको छ । यही कारणले आयात घटेको हुनुपर्छ,’ खड्काले चाणक्य पोष्टसँग भने ‘सेनिटरी प्याडमा यत्रो कर छुट दिँदादिँदै आयात कम हुनु राम्रो हो ।’
सेनटरी प्याड उत्पादनमा नेपाल आत्मनिर्भर रहेका नेपाल सेनिटरी प्याड उत्पादक संघले जनाएको छ । नेपालमा वार्षिक ३० करोड पिस प्याड माग हुने भए पनि स्वदेशी उद्योगको उत्पादन क्षमता ९० करोड पिस रहेको संघले बताएको छ । यद्यपि, क्षमता अनुसार उत्पादन गर्दा विक्री नहुने भएपछि उद्योगहरूले बजारको माग अनुसार मात्रै प्याड उत्पादन गर्दै आएका छन् ।
हाल नेपालमा ३५ देखि ४० वटा प्याड उद्योगहरू संचालनमा रहेका छन् । ती उद्योगमा ६ अर्ब रुपैयाँ बढी लगानी रहेको व्यवसायीहरू बताउँछन् । ती उद्योगले ६ हजार जनालाई प्रत्यक्ष रोजगारी समेत दिएका छन् ।
निर्यात बढ्दो
पछिल्लो समय नेपालमै गुणस्तरीय सेनिटरी प्याड उत्पादन हुन थालेपछि निर्यात समेत हुन थालेको छ । एकातिर आयात भइरहे पनि अर्कोतर्फ विदेश निर्यात हुन थालेको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा ४ करोड ८२ लाख ७१ हजार रुपैयाँ बराबरको सेनिटरी प्याड निर्यात भएको छ । सो मूल्यमा १ करोड ७९ लाख ९२ हजार २५२ पिस सेनिटरी प्याड निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा २९ लाख ९२ हजार रुपैयाँमा १४ लाख ८५ हजार पिस प्याड निर्यात भएको थियो । सो आवमा कुल ३ करोड ५१ लाख ५६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ३ण् हजार २६४ पिस सेनिटरी प्याड निर्यात भएको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा कुल १ करोड ६१ लाख ४९ हजार रुपैयाँको सेनिटरी प्याड निर्यात भएको थियो । सो मूल्यमा २ लाख ६२ हजार १७९ पिस सेनिटरी प्याड निर्यात भएको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा नेपालबाट कुल १ करोड ९ लाख ७० हजार रुपैयाँ बराबरको सेनिटरी प्याड निर्यात भएको थियो । सो मूल्यमा ४२ लाख ७९ हजार ३६४ पिस सेनिटरी प्याड निर्यात भएको हो ।