साना तथा मझौला उद्योगको विकास गर्न ‘एसएमइज’ सम्मेलन गर्दै महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले एसएमइज सम्मेलन गर्ने भएको छ। महासंघले माघ ९ गते काठमाडौंमा एसएमइज सम्मेलनको आयोजना गर्ने भएको हो।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हुने उक्त सम्मेलनलाई अर्थमन्त्री पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले संवोधन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

एकदिने सम्मेलनको उद्घाटन समारोहमा महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्योग सचिव डा. तोय नारायण ज्ञवाली, युनिसेफ, आइएफसी, आइएलओका अधिकारीहरुले सम्बोधन गर्ने छन्।

कार्यक्रमको समापन सत्रमा महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीबी बस्नेत र महिला उद्यमी विकास समितिका सभापति रीता सिम्हले सम्बोधन गर्ने छन् ।

महांसघका अनुसार महिला उद्यमी लगायत लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास, विस्तार एवं प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

सम्मेलनको दौरान यस क्षेत्रका लागि आवश्यक नीतिगत व्यवस्था, वित्तिय पहुंच, बजार प्रवद्र्धन, निर्यात प्रवद्र्धन, अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुँदा पर्ने प्रभाव लगायतका विषयहरुमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुति, सामूहिक छलफल हुने महासंघले जनाएको छ।

मुलुकको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा लघु, घरेलु, साना तथा मझौलाको रहेको छ । जीडीपीमा उद्योग क्षेत्रको योगदान ५.६ प्रतिशत छ । त्यसमा एसएमइजको अंशमात्र ९० प्रतिशत रहेको बताइन्छ । यस क्षेत्रबाट करिव १७ लाखले रोजगार पाएका छन् ।

त्यसैगरी सम्मेलनको प्राविधिक पहिलो सत्र ठूला तथा साना उद्योग बीच व्यवसायिक सम्बन्ध,दोस्रो सत्र वित्तीय पहुंच, तेस्रो सत्र वस्तु बजारीकरण/निर्यात/अति कम विकसित मुलुकबाट स्तरोन्नती/युवा उद्यमशीलता विषयमा सामूहिक छलफल हुनेछ । सम्मेलनमा आ-आफ्ना क्षेत्रका स्थापित उद्यमी व्यवसायीका अनुभव आदान प्रदानको सत्र समेत राखिएको महासंघले जनाएको छ ।

वित्तीय पहुँचका लागि आवश्यक मापदण्ड, कागजात एवं प्रक्रियागत विषयहरुमा विज्ञहरुले जानकारी दिनुको साथैं विदेशी राष्ट्रहरुमा एमएसएमई क्षेत्रको विकास एवं प्रवद्र्धनका लागि भए/गरेका प्रयासहरूबारे समेत सम्मेलनमा छलफल हुनेछ । साना उद्योगीले प्रतिष्ठित उद्योग र उद्योगीले आफ्नो क्षेत्रमा प्राप्त गरेको सफलता र अनुभव आदान प्रदान गर्ने अवसर समेत पाउने छन् ।

सम्मेलनबाट एमएसएमई उद्योग प्रवद्र्धन गर्न बनेका नीति, ऐन, नियम एवं कार्यविधिमा भएका व्यवस्थाहरुबारे सहभागीले जानकारी प्राप्त गर्नुका साथै सम्मेलन एमएसएमई क्षेत्रले सामना गर्नुपरेका समस्या पहिचान गर्दै सम्बन्धित निकायहरुमा समस्या समाधानका लागि पहल गर्न सहयोगी हुने अपेक्षा गरिएको महासंघले उल्लेख गरेको छ ।

महासंघको घरेलु तथा साना उद्योग समिति र महिला उद्यमी विकास समितिका अग्रसरतामा आयोजना गरिने उक्त कार्यक्रममा प्रदेश उद्योग वाणिज्य संघ, जिल्ला तथा नगरस्तरिय उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नेपाल सरकारका प्रतिनिधिहरु, महिला, लघु, घरेलु, साना तथा मझौला उद्यमी लगायतका सरोकारवाला निकायका करिब ३०० जना प्रतिनिधिहरुको सहभागीता रहने छ । सम्मेलनका सबै कार्यक्रम होटल हिमालय कुपण्डोलमा सोमवार विहान ९:३० बाट सुरू हुने छन् ।

 

व्यवसायीको स्वार्थले विकास निर्माण ठप्पप्रायः Read Previous

व्यवसायीको स्वार्थले विकास निर्माण ठप्पप्रायः

एभरेष्ट बैंकको नाफा झन्दै दोब्बरले बढ्यो, वितरणयोग्य नाफा २.८४ अर्ब Read Next

एभरेष्ट बैंकको नाफा झन्दै दोब्बरले बढ्यो, वितरणयोग्य नाफा २.८४ अर्ब